सुनसरीको दुहबीमा सञ्चालित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. ले उत्पादन गरेको बिस्कुटमा अखाद्य वस्तु (रौं) भेटिएपछि सरकारले कडा कारबाही गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार उद्योगद्वारा उत्पादित डाइजेस्टिभ नट्स बिस्कुटमा रौं भेटिएको भन्दै विभागमा उपभोक्ताबाट उजुरी परेको थियो । उक्त उजुरीका आधारमा विभागको विराटनगरस्थित कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले उद्योगको उत्पादन स्थलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा टोलीले उजुरी परेको ब्रान्डको बिस्कुटको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । प्रयोगशाला परीक्षणपछि कैफियत पुष्टि भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३५ को खण्ड ‘ङ’ बमोजिमको कसुर देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड ‘ख’ अनुसार उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस