बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरिएका पाँच सहकारी संस्थाका ऋणीहरूलाई ऋण तिर्न १५ दिनको अन्तिम समय दिएको छ। संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै यस्तो समयसीमा तोकेको हो।
समितिले विभिन्न माध्यम—फोन, वेबसाइट र राष्ट्रिय दैनिक पत्रिकामार्फत पटक–पटक जानकारी गराउँदा पनि धेरै ऋणीहरूले अझै सावाँ, ब्याज र जरिवाना नतिरेपछि अन्तिम चेतावनी दिइएको जनाएको छ। हाल सिभिल सेभिङ्ग एण्ड क्रेडिट, दर्शन बचत तथा ऋण, सुमेरु बचत तथा ऋण, लालीगुराँस बचत तथा ऋण र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी तिनको सम्पत्ति र दायित्व व्यवस्थापनको जिम्मा समितिलाई दिइएको छ।
सूचनाअनुसार तोकिएको १५ दिनभित्र ऋण नतिरेमा कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ। ऋण नतिर्ने व्यक्तिहरूको नाम सार्वजनिक गरिनुका साथै उनीहरू, उनका परिवारका सदस्य र जमानीकर्ताको सम्पत्ति तथा बैंक खाता रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गरिने उल्लेख छ। साथै, प्रचलित सहकारी ऐन र नियमावली अनुसार धितोमा राखिएको सम्पत्ति लिलाम गरेर ऋण असुल गरिनेछ।
यो सूचना ऋणीहरू मात्र नभई सम्बन्धित सहकारीका सञ्चालक, कर्मचारी र जमानीकर्ताहरूलाई पनि लक्षित गरिएको हो। ऋण तिर्न चाहनेहरूले काठमाडौँको अनामनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरेर आफ्नो हिसाब मिलाउन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस