धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण सुरु भएको १३ महिनाको अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । हाइड्रो इम्पायर लिमिटेड प्रवद्र्धक रहेको ४६.२५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, ‘हाइड्रो’ र ‘इलेक्ट्रोमेकानिकल’ तर्फका निर्माणलाई समानान्तरण रूपमा तीव्रता दिएको हो ।
विसं २०८१ चैत महिनादेखि निर्माण थालिएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । ६ हजार ४२५ मिटर मुख्य सुरुङसहित सम्पूर्ण भूमिगत संरचनामध्ये हालसम्म ४ हजार २२० मिटर सम्पन्न भएको जनाइएको छ । धवलागिरि गाउँपालिका–४ सिङकोश दोभानमा बाँध र घिम्लेटी (खारपानी)मा विद्युत्गृह निर्माणाधीन छ । बाँधस्थल, चेचुङको अडिट र घिम्लेटीको आउटलेटबाट सुरुङ निर्माण भइरहेको छ । घिम्लेटीमा आयोजनाको प्रशासनिक भवन निर्माण भएको छ । आउटलेटबाट विद्युतगृहसम्म आठ सय ४३ मिटर लामो ‘पेनस्टक’ पाइपलाइन रहनेछ । यो आयोजना ‘रन अफ द रिभर’ (नदी प्रभाहमा आधारित) हो ।
बाँध, ‘इन्टेक’ र विद्युत्गृह बाहेकका ‘ग्रोवल ट्रयाप’, डिसेण्डर (बालुवा थिग्रयाउने पोखरी), मुख्य सुरुङ र सर्ज टनेललगायत सबै संरचना भूमिगत रहने भएका छन् । आयोजनाको सिभिल ठेकेदार आरएससी आरजे जेभी र माछापुच्छ्र्रे इन्जिनियरिङ प्राली रहेका छन् । साथै इलेक्ट्रोमेकानिकल कार्यका लागि ठेकेदार कम्पनी ट्रोयर इटली रहेको छ । हाइड्रोमेकानिकल कार्यका लागि माछापुच्छ्र्रे मेटल एण्ड मेसिनरी वर्कसप प्राली परिचालित भएको छ ।
यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६.२५ बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको हाइड्रो इम्पाएरले जनाएको छ । यसका लागि थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने हिसाबले ३१४ मिटर अग्लो रहेको हेडलाई बढाएर ३१७ मिटर र खोलाबाट सुरुङमा हालीने पानीको मात्रा १४.४१ घनमिटर प्रतिसेकेण्डबाट बढाएर १७.२४ घनमिटर प्रतिसेकेण्ड बनाई क्षमता बढाइएको हो ।
सुक्खायाममा पनि म्याग्दी नदीमा पानीको मात्रा पर्याप्त हुने भएकाले यस आयोजनाले लगानीकर्तालाई छिटो प्रतिफल दिने जनाइएको छ । ८ अर्ब ४६ करोड ५४ लाख २ हजार रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा सिद्धार्थ बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एभरेष्ट बैंक र नविल बैंकले लगानी गरेका छन् । ७० प्रतिशत बैंक र ३० प्रतिशत स्वपुँजीको अनुपात रहेको छ ।
प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल लागतको १० प्रतिशत सेयरको व्यवस्था गरिएको आयोजनाले जनाएको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेशनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ । दश किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणको तयारीमा छ । शिवरात्रिखोलादेखि बाँध निर्माणस्थलसम्म करिब १८ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजनाले धवलागिरि गाउँपालिकाको सिफारिसमा खिवाङ र चेचुङ गाउँमा सडक पुर्याउन सहयोग गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस