राष्ट्रिय स्तरका विकास बैंकहरूले चालु आर्थिक वर्षको ९ महिनामा साढे ५ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्। नेपालमा सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकले २०८२/०८३ को तेस्रो त्रैमाससम्म कुल ५ अर्ब ५० करोड ३५ लाख ७४ हजार रुपैयाँ नाफा कमाएका हुन्।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा बैंकहरूको कुल नाफा ३ अर्ब ६९ करोड रुपैयाँ थियो। नाफाको आधारमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ। बैंकले ९ महिनामा १ अर्ब ४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४२.९१ प्रतिशतले बढी हो।
दोस्रो स्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ। जसले ३० प्रतिशत वृद्धि गर्दै ९४ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ। त्यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ५३.३८ प्रतिशतले बढेर ७८ करोड ८४ लाख रुपैयाँ पुगेको छ। ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि हुँदै ६२ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने कामना सेवा विकास बैंकले १९.३७ प्रतिशत वृद्धि गर्दै ५८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ।
सबैभन्दा उच्च वृद्धिदर लुम्बिनी विकास बैंकले देखाएको छ । जसको नाफा अघिल्लो वर्षको तुलनामा १०२८ प्रतिशतले बढेर ५६ करोड १६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ११.५९ प्रतिशतले बढेर ४८ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने महालक्ष्मी विकास बैंकको नाफा ५.३६ प्रतिशतले वृद्धि भई ४५ करोड ९९ लाख रुपैयाँमा पुगेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस