नेपाल सरकारले कार्यायल समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मका लागि कायम गरेको छ । इन्धनको खपत कम गर्ने भन्दै सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिदै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय विहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम हुने निर्णय गरेको थियो । सरकारको यो निर्णयसँगै अब सेयर बजार पनि एक घण्टा अघि देखि खुला हुने हो कि भन्ने खालका कुराहरु पनि सुनिन थालेको छ ।
सरकारी कार्यालय १० बजेबाट हुँदा सेयर कारोबार ११ बजेबाट हुने गरेको थियो । अहिले कार्यालय समय ९ बजे हुँदा सेयर कारोबार १० बजेबाट हुनु पर्छ कि पर्दैन भन्ने विषयमा चिया गफमा पनि हुन थालेको छ । एक घण्टा समय अघि आउँदा सेयर कारोबारको समय पनि एक घण्टा अघि सार्नु पर्ने कतिपयको धारणा छ । तर, यसका लागि नेप्सेमा भने कुनै छलफल नै भएको छैन ।
सरकारले गरेको निर्णय अनुसार सोमबारदेखि शुक्रबारसम्म साविककै समयमा सेयर कारोबार हुने नेप्सेले जनाएको छ । तर, समय १० देखि हुने विषयमा भने कुनै छलफल नै नभएको नेप्सेका प्रवक्ता मुहाहरी पराजुलीको भनाइ छ । उनले कसैले रहर गर्नु स्वाभाविक भए पनि यो विषयमा छलफल नभएको जानकारी दिए । ‘सरकारले गरेको निर्णयसँगै सेयर कारोबार पनि १० बजेबाट हुनु पर्छ भनेर मान्छेले रहर गर्नु स्वाभाविक हो । तर, यसको आश्यकताको विषयमा धेरै विचार गर्नु पर्छ,’ उनले भने ।
अहिले यो विषयमा सामाजिक सञ्जालमा मात्रै कुरा भएको हो । औपचारीक रुपमा कतै पनि छलफल नभएको उनको भनाइ छ । ‘सामाजिक सञ्जालमा आएको कुरा मात्रै हो । यस विषयमा नेप्सेमा कतै पनि चर्चा भएको छैन,’ उनले भने । लगानीकर्ताहरुले भने सेयर कारोबारको समय थप गर्न नहुने बताएका छन् । अहिलेको अवस्थामा कार्यालय समय जतिबेला भए पनि साविककै अवस्थामा सेयर बजार ११ बजेदेखि ३ बजेसम्म नै खुल्नु पर्ने उनीहरुको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस