Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक पर्यटनमा नेपालीको उत्साह - एक वर्षमै खर्चिए ४ खर्ब ५९ अर्ब, जिडिपीमा २.६५ प्रतिशत योगदान

अर्थ संसार

शुक्रबार, १९ असार २०८३, १५ : २८ मा प्रकाशित

आन्तरिक पर्यटनमा नेपालीको उत्साह - एक वर्षमै खर्चिए ४ खर्ब ५९ अर्ब, जिडिपीमा २.६५ प्रतिशत योगदान

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको सर्वेक्षण ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’  अनुसार नेपालको राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक पर्यटनको योगदान उल्लेखनीय देखिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा २.६५ प्रतिशत हिस्सा ओगटेको छ। देशभरका ४४४ गणना क्षेत्रका ५ हजार ३२८ घरपरिवारलाई नमुनाका रूपमा छनोट गरी ‘टु-स्टेज स्ट्रेटिफाइड स्याम्पलिङ डिजाइन’ विधिबाट गरिएको यस सर्वेक्षणले नेपालका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये ५२.४ प्रतिशत (३६ लाख २१ हजार) घरपरिवार कम्तीमा एकपटक पर्यटकीय गतिविधिमा सहभागी भएको देखाएको छ।

बाँकी ४७.६ प्रतिशत (३२ लाख ८९ हजार) घरपरिवार भने कुनै पनि भ्रमणमा संलग्न भएनन्। सर्वेक्षण अनुसार पर्यटक घरपरिवारको राष्ट्रिय औसत सदस्य संख्या ३.९४ रहेको छ भने आन्तरिक पर्यटनमा युवा पुस्ताको आकर्षण निकै बलियो देखिएको छ। कुल पर्यटकमध्ये १३ देखि २८ वर्ष उमेर समूहका ‘जेनेरेसन जेड’ को हिस्सा सबैभन्दा बढी अर्थात् २६.६ प्रतिशत रहेको छ।

प्रदेशगत रूपमा सुदूरपश्चिम र मधेश प्रदेशमा पर्यटकको औसत बसाइ सबैभन्दा लामो ८.१८ दिन पाइएको छ भने वार्षिक भ्रमणको आवृत्तिका आधारमा गण्डकी प्रदेश सबैभन्दा अगाडि छ। जहाँ एक पर्यटकले औसतमा ६.२६ पटक भ्रमण गरेका छन्। रात बिताउने आन्तरिक पर्यटकका लागि काठमाडौं, चितवन र कास्की प्रमुख गन्तव्य जिल्ला बनेका छन् ।

जसमा मनोरञ्जनका लागि कास्की सबैभन्दा लोकप्रिय देखिएको छ। यसैगरी, सर्वेक्षणले नेपालीहरूको बाह्य भ्रमणको अवस्थालाई पनि प्रस्तुत गरेको छ । जसअनुसार सन्दर्भ अवधिमा २ लाख ९३ हजार नेपाली सोही दिन फर्किने गरी र ६ लाख २० हजार नेपाली रात बिताउने गरी विदेश भ्रमणमा गएका छन्। सोही दिन फर्किने बाह्य भ्रमणको मुख्य उद्देश्य किनमेल रहेको छ । जसको हिस्सा ६३.९ प्रतिशत छ। रात बिताउने भ्रमणमा पनि ४०.३ प्रतिशत हिस्सासहित किनमेल नै प्रमुख उद्देश्य र १९.६ प्रतिशत हिस्सासहित धार्मिक उद्देश्यका रूपमा रहेको छ।

बाह्य भ्रमणको मौसमी प्रवृत्ति हेर्दा कात्तिकदेखि पुससम्मको अवधिमा सबैभन्दा बढी भ्रमण हुने गरेको पाइएको छ। विशेषगरी भारततर्फ सोही दिन फर्किने भ्रमणमा गरिएको कुल खर्चमध्ये ७०.७ प्रतिशत रकम किनमेलमै खर्च हुने गरेको सर्वेक्षणले देखाएको छ। नेपाली घरपरिवारले सन्दर्भ अवधिमा पर्यटनसँग सम्बन्धित गतिविधिमा कुल ४ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ खर्च गरेका छन्। यसमध्ये आन्तरिक पर्यटनअन्तर्गत रात बिताउने भ्रमणमा ३ खर्ब ४४ अर्ब ४४ करोड रुपैयाँ र सोही दिन फर्किने भ्रमणमा ९० अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ। बाह्य पर्यटनतर्फ रात बिताउने भ्रमणमा ४७ अर्ब ९७ करोड रुपैयाँ तथा सोही दिन फर्किने भ्रमणमा १५ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

उद्देश्यगत रूपमा स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा सबैभन्दा बढी, कुल खर्चको ३१.७८ प्रतिशत हिस्सा खर्च भएको छ। विधागत रूपमा भने किनमेलमा २६ प्रतिशत खर्च भएको देखिएको छ। खर्चका शीर्षकमध्ये यातायातमा भएको खर्चको ६८.७ प्रतिशत सार्वजनिक सवारीसाधनमा खर्च हुने गरेको पाइएको छ। प्रति भ्रमण औसत खर्च ११ हजार ९२२ रुपैयाँ रहेको छ भने स्वास्थ्य उपचारसम्बन्धी भ्रमणको औसत खर्च सबैभन्दा बढी २३ हजार ५१६ रुपैयाँ रहेको छ।  पर्यटन स्याटलाइट लेखाको ढाँचाअनुसार आन्तरिक पर्यटनबाट सिर्जित कुल पर्यटकीय उपभोग ४ खर्ब ७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। यसका आधारमा आन्तरिक पर्यटन क्षेत्रबाट ३ खर्ब ३१ अर्ब २४ करोड रुपैयाँ बराबरको उत्पादन सिर्जना भएको तथा कुल पर्यटन मूल्य अभिवृद्धि १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयको सर्वेक्षणले देखाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको