Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीगत लाभकर बढाइएकोमा विरोध जारी, आज होला सहमति ?

मंगलबार, २२ जेठ २०७५, १० : ४७ मा प्रकाशित

पूँजीगत लाभकर बढाइएकोमा विरोध जारी, आज होला सहमति ?

अर्थ संसार, काठमाडौँ– सरकारले हकप्रद र बोनस सेयरमा समेत पूँजीगत लाभकर बढाएको भन्दै सेयर बजारका लगानीकर्ताले आज पनि विरोध जनाएका छन् ।

उनीहरूले सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई ज्ञापनपत्र बुझाई उक्त व्यवस्था तत्काल हटाउन आग्रह गरेका थिए भने नेपाल धितोपत्र बोर्डमा समेत पुगेर विरोध जनाएका थिए ।

 सरकारले सोमबारदेखि लागू हुने गरी बोनस तथा हकप्रद सेयरमा पूँजीगत लाभकर लगाउने व्यवस्था गरेको सेयर लगानीकर्ताको भनाइ छ ।

प्रमुख कार्यकारी अधिकृत साउदले भने लगानीकर्ताले गराएको ध्यानकर्षणका बारेमा सम्बद्ध निकायलाई जानकारी गराएर समस्या समाधान गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

यस्तै सेयर लगानीकर्ताले आजै नेपाल धितोपत्र बोर्डमा समेत ध्यानाकर्षण गराएका छन् । उनीहरूले बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र प्रवक्ता नीरज गिरीलगायत उच्च अधिकारीलाई भेटेर आफूहरूको समस्या समाधानका लागि आग्रह गरेका थिए ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारले लगानीकर्तालाई समस्यामा पार्दै पूँजी बजारलाई सखाप पार्न खोजेको आरोप लगाउनुभयो ।

सरकारले सोमबारदेखि बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो ।

यस्तै संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ । यस्तै लगानीकर्ताले आजै अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलगायत अधिकारीसँग पनि छलफल गरी पूँजीगत लाभकरले लगानीकर्ता मारमा पर्ने गुनासो गरे । सोमबारको  छलफलमा कुनै सहमति नभए पनि आज  पुनः छलफल गर्ने सहमति भएको छ । तर, आज पनि सहमति हुने सम्भावना भने कम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको