अर्थ संसार
काठमाडौं–नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी आगामी नयाँ बर्षको अबसरमा हुने भएको छ ।महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यसअघि राष्ट्रिय औद्योगिक प्रदर्शनी नाममा गरिँदै आएको मेला नयाँ स्वरुपमा २०७४ बैशाख ७ देखि ११ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा आयोजना गर्ने जानकारी दिएको हो ।
मेलामासबै खोज, अनुसन्धान तथा आविष्कारहरूलाई प्रदर्शित गरिने महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारीदिए । यस पटक छिमेकी मुलुक चीन, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरूमा विकास गरिएका प्रविधिहरूलाई पनि मेलामा सहभागि गराइने बताइएको छ । मेलामा औद्योकरणका लागि उपयुक्त हुने प्रविधिका आविष्कारकहरूलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रमसमेत महासंघले राखेको छ ।
मेला आयोजना गर्न विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, रिकास्ट र विश्वविद्यालयहरूसँग सहकार्य गरिने महासंघले जनाएको छ ।
औद्योगिक व्यापार मेलासमेत भएकाले मेलामा ा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगका उत्पादनको प्रदर्शनी र व्यापारसमेत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । मुलुकको औद्योगिकरणले वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरिने बताइएको छ । उद्यमी र उद्यमी, अन्वेषणकर्ता र उद्यमीबीच अन्तरक्रिया एवं छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका थप आकर्षण हुनेछन् ।
यस प्रदर्शनीमा ७५ जिल्लाबाटै उद्यमीहरू एवं उपयुक्त प्रविधि प्रयोगकर्ता उद्यमीहरू, प्रविधि अन्वेषणकर्ताहरूको सहभागिता रहने छ । प्रदर्शनीमा ३ सय वटा स्टल रहनेछन् । एक लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने महासंघले अपेक्षा गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस