Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा

मंगलबार, ०५ भदौ २०७५, १२ : २४ मा प्रकाशित

माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा

 रमेश लम्साल

अर्थ संसार, काठमाडौं– नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ ।

सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् । सोबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब ७६ करोड लगानी गर्ने भएका छन् ।   त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको ३७ मेगाावाट क्षमताको सो आयोजनामा नबिल बैंकको अगुवाइमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडले ऋण लगानीसम्बन्धी सम्झौता गरेका हुन् ।

सम्झौतापत्रमा त्रिशूली जलविद्युत् कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मोहन गौतम र अगुवा बैंकको तर्फबाट नबिलका कर्पोरेट विभाग प्रमुख ज्ञानेश्वर आचार्यले ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । आयोजनाको कूल लागत रु आठ अर्ब २२ करोड छ ।  निर्माण अवधिको ब्याज मात्रै रु ७८ करोड तिर्नुपर्ने देखिएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले स्वपूँजीको रूपमा रु दुई अर्ब ४६ करोड लगानी गर्ने भएका छन् ।

आयोजना निर्माणको काम चीनको सिचुवान एनहे हाइड्रोलिक इञ्जिनीयरिङ कम्पनी लिमिटेडले गरिरहेको छ । विस्तृत डिजाइन, खरिद र  निर्माण (इपीसी) ढाँचामा निर्माण हुने सो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गरिने प्रबन्ध निर्देशक गौतमले जानकारी दिनुभयो । सन् २०२१ मार्चमा आयोजना सम्पन्न हुने छ ।

आयोजनाबाट वार्षिक २९ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनामा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा र नुवाकोटका गाउँपालिका तथा नगरपालिकाको समान पाँच प्रतिशत, रसुवा र नुवाकोटका स्थानीय बैंक तथा  वित्तीय संस्थाको पाँच प्रतिशत तथा रसुवा र नुवाकोटका स्थानीयबासीको दश प्रतिशत शेयर लगानी रहनेछ ।

यस्तै आम नेपालीको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहने गरी संरचना तयार पारिएको छ । नुवाकोट र रसुवाको सिमानामा  निर्माण हुने  सो  आयोजना प्राधिकरणले हाल  निर्माण गरिरहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि ‘ए’ परियोजनाको सहायक आयोजना हो ।  सो आयोजनाले स्थानीयवासी र आम नेपालीलाई शेयर दिने अवस्था नभएपछि सहायक आयोजना निर्माण गरेर सबैलाई शेयर लगानी गर्ने वातावरणसमेत बनाइ निर्माण गर्न लागिएको हो ।
 
हाल आयोजनाको प्रारम्भिक काम भइरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा अन्य काम अगाडि बढिरहेको छ । सो आयोजनाबाट उत्पादित विद्युत् आयोजना नजिकै निर्माण हुने त्रिशूली थ्री ‘बी’ हब प्रसारण लाइन एवं सवस्टशेनबाट राष्ट्रिय प्रणालीमा जोडिनेछ । आयोजनाबाट उत्पादित विद्युत् खरिद सम्बन्धी द्विपक्षीय सम्झौतामा २०७४ भदौ ६ गते हस्ताक्षर भइसकेको छ ।
     
हस्ताक्षर समारोहमा उपस्थित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना आकर्षक र महत्वपूर्ण रहेकाले सबै क्षेत्रको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्ला दिनमा आफ्नो बैंकले ऊर्जा क्षेत्रमा लगानी गरिरहेको जानकारी दिँदै परियोजना निर्धारित समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । रासस

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको