अमेरिकाले इरानमाथि पुनः व्यापक हवाई आक्रमण गरेसँगै मध्यपूर्वमा तनाव थप चर्किएको छ। विशेषगरी विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने हर्मुज वरिपरि सैन्य गतिविधि तीव्र बनेपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा नयाँ अनिश्चितता देखिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी सेनाले सोमबार बिहान इरानका दक्षिणी तथा दक्षिणपश्चिमी क्षेत्रहरूमा नयाँ हवाई आक्रमण गरेको हो। इरानी सरकारी सञ्चारमाध्यमले बन्दर अब्बास, सिरिक, जास्क, केश्म टापु लगायतका क्षेत्रमा शक्तिशाली विस्फोट भएको पुष्टि गरेका छन्।
इरानको खुजेस्तान प्रान्तका सुरक्षा उपप्रमुख भलिओल्लाह हयातीका अनुसार अमेरिकी सेनाले प्रान्तका कम्तीमा आठ स्थानमा विभिन्न चरणमा आक्रमण गरेको छ। स्थानीय समयअनुसार बिहान १:३५ बजेदेखि २:२० बजेसम्म आक्रमण जारी रहेको जनाइएको छ।
महशहर क्षेत्रमा रहेको कृषि पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक सुरक्षाकर्मीको मृत्यु भएको र अन्य चार जना घाइते भएको इरानी अधिकारीहरूले बताएका छन्। प्रभावित क्षेत्रको क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।
इरानले केश्म टापुमा करिब एक दर्जन 'शत्रु प्रक्षेपास्त्र' प्रहार भएको दाबी गरेको छ। उक्त टापु हर्मुज जलडमरूमध्य नजिकै रहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण क्षेत्र हो, जहाँ इरानका सैन्य पूर्वाधार तथा राडार प्रणालीहरू अवस्थित छन्।
यसैबीच अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले हर्मुज हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजहरूलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरिरहेको जनाएको छ। अमेरिकी पक्षले एक क्रुज मिसाइल र एक आक्रमणकारी ड्रोन खसालेको दाबी गरेको छ।
अमेरिकाले आफ्ना पछिल्ला आक्रमणहरू इरानको समुद्री आक्रमण क्षमता कमजोर पार्ने उद्देश्यले गरिएको जनाएको छ भने इरानले अमेरिकी हस्तक्षेप नरोकेसम्म हर्मुज क्षेत्रमा आवागमन सहज हुन नसक्ने अडान दोहोर्याएको छ।
हर्मुजमा तनाव बढेसँगै अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ।
ब्रेन्ट क्रुडको मूल्य करिब ३.३ प्रतिशत बढेर प्रति ब्यारेल ७८.५० अमेरिकी डलर पुगेको छ भने अमेरिकी WTI क्रुड पनि ३.४ प्रतिशत बढेर ७३.८३ डलर प्रति ब्यारेल पुगेको छ।
ऊर्जा विश्लेषकहरूका अनुसार यदि हर्मुजमार्फत हुने तेल ढुवानीमा थप अवरोध सिर्जना भयो वा खाडी क्षेत्रका उत्पादन तथा निर्यात पूर्वाधार प्रभावित भएमा ब्रेन्ट क्रुडको मूल्य ८० डलरभन्दा माथि पुग्न सक्ने सम्भावना रहेको छ।
विश्व समुद्री व्यापारसम्बन्धी तथ्यांक उपलब्ध गराउने संस्था Kpler का अनुसार युद्ध सुरु हुनुअघि दैनिक करिब १३० वटा जहाज हर्मुज हुँदै आवतजावत गर्ने गरेकामा हाल त्यो संख्या घटेर २२ जहाज प्रतिदिन मा सीमित भएको छ।
इरानी विदेश मन्त्रालयले हर्मुज जलडमरूमध्यको व्यवस्थापनबारे ओमानसँग भएको छलफल सफल हुन नदिन अमेरिकाले प्रत्यक्ष तथा अप्रत्यक्ष दबाब दिएको आरोप लगाएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग सहमति नजिक पुगेको दाबी गरेका थिए। तर इरानले ट्रम्पको उक्त दाबीलाई "निराधार र भ्रामक" भन्दै अस्वीकार गरेको छ।
पछिल्ला केही दिनयता अमेरिका र इरानबीच लगातार प्रतिआक्रमण भइरहेका छन्। यसअघि इरानले बहराइन, कुवेत, ओमान, कतार तथा जोर्डन तर्फ अमेरिकी सैन्य सम्पत्तिलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको थियो।
यता इजरायलले पनि गाजा र लेबनान मा सैन्य कारबाही जारी राखेको छ। यसले मध्यपूर्वको समग्र सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ।
हर्मुजबाट विश्वको झण्डै पाँचौं भाग कच्चा तेल ढुवानी हुने भएकाले यहाँको कुनै पनि सैन्य अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति, ढुवानी लागत, मुद्रास्फीति तथा विश्व अर्थतन्त्रमा प्रत्यक्ष असर पार्न सक्छ।
विश्लेषकहरूका अनुसार अमेरिका–इरानबीचको तनाव तत्काल समाधान नभए तेलको मूल्यमा थप अस्थिरता आउने, ऊर्जा आयातमा निर्भर मुलुकहरूको व्यापार घाटा बढ्ने तथा विश्व वित्तीय बजारमा समेत दबाब सिर्जना हुने सम्भावना बढेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस