नेपालको पुँजी बजारमा लगातार गिरावट आइरहँदा पनि सरकार र नियामक निकायले बजार सुधारमा चासो नदेखाएको भन्दै सेयर लगानीकर्ता तथा अभियन्ता तिलक कोइरालालेआन्दोलनको घोषणा गरेका छन्।
फेसबुक लाइभमार्फत सम्बोधन गर्दै कोइरालाले भोलि धितोपत्र बोर्डको केन्द्रीय कार्यालय र देशैभरका स्टक ब्रोकर कार्यालयहरूमा ताला लगाउने घोषणा गरेका हुन्।
लामो समयदेखि सेयर बजार ओरालो लाग्दा समेत नियामक निकाय धितोपत्र बोर्ड र सरकार मूकदर्शक बनेको आरोप लगानीकर्ताहरूले लगाउँदै आएका छन् र सोही उदासीनताको विरोधमा यो कदम चाल्न लागिएको कोइरालाले बताएका छन्।
फेसबुक लाइभका क्रममा अभियन्ता कोइरालाले वर्तमान अर्थमन्त्री र धितोपत्र बोर्डको कडा आलोचना गरे। विशेष गरी अर्थमन्त्रीले देशको अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई कुनै पनि महत्त्व नदिएको र यसप्रति पूर्ण रूपमा उदासीन बनेको कोइरालाको आरोप छ। बजार निरन्तर घट्दा आम साना लगानीकर्ताको खर्बौँ रुपैयाँ डुबिसकेको अवस्थामा पनि अर्थ मन्त्रालय र नियामक निकायले बजारलाई स्थायित्व दिन कुनै ठोस नीतिगत परिमार्जन वा संकटकालीन कदम नचालेको उनले बताए। बजार निरन्तर ओरालो लाग्दा र आम लगानीकर्ताको उठिबास हुँदा पनि जिम्मेवार निकायहरू आँखा चिम्लेर बस्न नमिल्ने भन्दै आफ्ना आवाज र सुझावहरूलाई लगातार बेवास्ता गरिएपछि बाध्य भएर कडा आन्दोलनको बाटो रोज्न विवश भएको उनले स्पष्ट पारेका छन्।
घोषित आन्दोलन अन्तर्गत कोइरालाले भोलि सम्पूर्ण आम सेयर लगानीकर्ताहरूलाई एकजुट हुन आह्वान गरेका छन्। भोलिको कार्यक्रम अनुसार लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डको केन्द्रीय कार्यालय र देशभरका सम्पूर्ण स्टक ब्रोकरका कार्यालयहरूमा तालाबन्दी गरी कामकाज ठप्प पार्ने योजना बनाएका छन्। यस तालाबन्दीको मुख्य उद्देश्य सेयर कारोबारमा अवरोध पुर्याएरै भए पनि अर्थमन्त्री, सरकार र नियामक निकायलाई बजार सुधारका लागि दबाब दिँदै लगानीकर्ताको हितमा निर्णय गर्न बाध्य पार्नु रहेको बुझिएको छ।
नियामक निकाय र नीति निर्माताहरू विरुद्ध तिलक कोइरालाको यो पहिलो आन्दोलन भने होइन। यसअघि पनि उनले सेयर बजार सुधार र विस्तारका लागि भन्दै आमरण अनशन बस्नेदेखि २२ बुँदे माग बुझाउनेसम्मका आन्दोलनहरूको नेतृत्व गरिसकेका छन्।
पछिल्लो समय नेप्से परिसूचक लगातार घटेर आफ्नो सम्पत्तिको मूल्य तीव्र रूपमा घटेपछि आम सर्वसाधारण लगानीकर्ताहरूमा पनि तीव्र आक्रोश र निराशा छाएको छ र यही आक्रोशका बीच लगानीकर्ताहरू कोइरालाको यस आन्दोलनमा ऐक्यबद्धता जनाउन तयार देखिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस