नेकपा (एमाले) का सचिव महेश बस्नेतले शेयर बजारमा आएको निरन्तर गिरावटलाई सरकारको नीतिगत असफलता र लगानीकर्ताको विश्वास कमजोर बन्दै गएको अवस्थासँग जोड्दै सरकारको आलोचना गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले बालेन नेतृत्वको सरकार गठन भएको करिब १०६ दिनको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८० अंकभन्दा बढीले घटेको तथा बजार पूँजीकरणबाट झन्डै ६०० अर्ब रुपैयाँ बराबरको लगानीकर्ताको सम्पत्ति घटेको दाबी गरेका छन्।
उनले शेयर बजारलाई देशको अर्थतन्त्र र लगानीकर्ताको आत्मविश्वासको ऐना भएको उल्लेख गर्दै स्पष्ट आर्थिक नीति, राजनीतिक स्थिरता र लगानीमैत्री वातावरणबिना पूँजी बजारले गति लिन नसक्ने बताएका छन्।
बस्नेतले नीतिगत अन्योल र विश्वासको संकट बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको उल्लेख गर्दै सरकारले भाषणभन्दा पनि लगानीकर्ताको विश्वास बढाउने निर्णय, नीतिगत स्पष्टता र आर्थिक स्थिरतामा ध्यान दिनुपर्ने बताएका छन्।
उनका अनुसार शेयर बजारमा आएको गिरावटको असर केवल लगानीकर्तामा सीमित नहुने, समग्र अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले यस विषयलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ।
सामाजिक सञ्जालमा उनले आफ्नो व्यक्तिगत धारणा व्यक्त गर्दै, "मेरो दृष्टिमा दुई तिहाइको दम्भबाट परिचालित बालेन र स्वर्णिमको असक्षमता, सुधन गुरुङको अराजकता र रवि लामिछानेको रहस्यमय मौनताले लगानीकर्ताको विश्वास कमजोर बनाएको छ, जसले शेयर बजारको गिरावटमा योगदान दिएको देखिन्छ," उल्लेख गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस