निरन्तरको गिरावटले संकटमा परेको सेयर बजार सुधार्न, लगानीकर्ताको निराशा चिर्न र बजारप्रतिको गुमेको विश्वास जगाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको ‘पूँजीबजार रेस्क्यू प्लान’ लाई अर्थमन्त्रीले स्वीकृति दिएका छन्।
अर्थसंसारसँग कुराकानी गर्दै सेबोनका अध्यक्ष डा.गोपालप्रसाद भट्टले बजारको सुधार र आधुनिकीकरणका लागि तयार गरिएको कार्ययोजना अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबाट स्वीकृत भइसकेको जानकारी दिए। उक्त कार्ययोजना आज अथवा भोलिसम्म सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।
अध्यक्ष भट्टका अनुसार आगामी एक वर्षभित्र पूँजीबजारको समग्र सुधार, आधुनिकीकरण र शुद्धीकरणका लागि स्पष्ट कार्यतालिका तथा जिम्मेवारीसहितको ‘रेस्क्यू प्लान’ तयार गरिएको छ । जसमा तत्काल कार्यान्वयन गर्नुपर्ने कामसँगै मध्यकालीन र दीर्घकालीन योजनाहरू समेत समेटिएका छन्। बजारका संरचनागत कमजोरीहरू सुधार्ने, नियामक निकायको क्षमता बढाउने, कारोबार प्रणालीलाई आधुनिक बनाउने, लगानीकर्ताको हित संरक्षण गर्ने तथा बजारमा हुने सम्भावित विकृति र चलखेल नियन्त्रण गर्ने विषय यस योजनाको मुख्य प्राथमिकतामा रहेका छन्।
यस योजनाको प्रभावकारी कार्यान्वयनबाट अहिले संकटग्रस्त अवस्थामा पुगेको बजारले नयाँ गति लिने र लगानीकर्तामा गुमेको आत्मविश्वास फर्किने विश्वास अध्यक्ष भट्टले व्यक्त गरेका छन्। अर्कोतर्फ, लगानीकर्ताहरूले भने आफ्ना सुझावहरू समेत समेटेर यो योजना आजै सार्वजनिक हुनुपर्ने अडान राखेका छन् । यसमा थप ढिलाइ गरिए बुधबारदेखि आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी समेत दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस