नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्षले सेयर बजार सुधारका कामहरू अघि बढाउने आश्वासन दिएपछि आन्दोलनरत सेयर लगानीकर्ताहरूले तत्कालका लागि आफ्नो आन्दोलन स्थगित गरेका छन्। सेयर बजारमा देखिएका समस्या समाधान र सुधारका विभिन्न माग राख्दै बोर्ड कार्यालयमा तालाबन्दी गर्न पुगेका लगानीकर्ताहरू आज धितोपत्र बोर्डमा तालाबन्दी नगरीकन फर्किएका हुन्।
पूँजी बजार सुधारको माग गर्दै अभियन्ता तथा लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा गएको लगानीकर्ताहरूको टोली र धितोपत्र बोर्डका अध्यक्षबीच आज विशेष छलफल भएको थियो। उक्त छलफलमा बोर्डका अध्यक्षले लगानीकर्ताका मागहरू सम्बोधन गर्न सकारात्मक रहेको र आज (मंगलबार) बेलुकासम्ममा नै बजार सुधारको स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेपछि लगानीकर्ताहरू आन्दोलन रोक्न सहमत भएका हुन्।
अध्यक्षको ठोस प्रतिबद्धतापछि लगानीकर्ताहरू धितोपत्र बोर्डको कार्यालयमा पूर्वनिर्धारित तालाबन्दीको कार्यक्रम नगरी शान्तिपूर्ण रूपमा घर फर्किएका छन्।
तर, लगानीकर्ताहरूले नियामक निकायलाई दबाब दिन भने छाडेका छैनन्। नेतृत्वकर्ता तिलक कोइरालाले आज बेलुकासम्म आउने भनिएको कार्ययोजना लगानीकर्ताहरूको हित र बजार सुधारको पक्षमा नआएमा वा आश्वासन मात्रै सीमित भएमा भोलिदेखि थप सशक्त र कडा आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
पछिल्लो समय सेयर बजारमा निरन्तर आएको गिरावटका कारण लगानीकर्ताहरू नीतिगत सुधार र बजारको स्थायित्वको माग गर्दै आएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस