अर्थ संसार, रुकुम पश्चिम– रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् ।
बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।
बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको उहाँले बताउनुभयो । बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । बुढाले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको र बाँकी अनुसन्धान गर्न बाँकी रहेको खड्काको भनाइ छ । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीयवासीले भने बुढा मानसिक रूपमा स्वस्थ नरहेको बताएका छन् । बुढा यसअघि पाँच दिन जङ्गलमा बसेका थिए । परिवारले खोजी गरी घर ल्याई धामीझाँक्री गरेको र उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेका बेला घटना भएको स्थानीयवासीको भनाइ छ । बुढा परिवारमा यसअघि पनि पटकपटक झगडा हुने गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस