अर्थ संसार, सोलुखुम्बु– सोलुखुम्बु जिल्ला अदालतले रु एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक मसान्तसम्म दण्ड जरिवाना तोकिएका व्यक्ति तथा संस्थाबाट उक्त जरिवाना रकम उठ्न बाँकी भएको हो ।
अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको जरिवाना रकमसहित रु एक करोड ३१ लाख छ हजार ६७२ रहेकामा कात्तिक महीनासम्ममा रु १८ लाख ४० हजार १६० सङ्कलन भएको जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएको जरिवाना रकम रु एक करोड २० लाख १४ हजार ११२ रहेकामा र चालू वर्षको नयाँ लगत रु १० लाख ९० हजार ५६० रहेको उक्त अदालतले जनाएको छ ।
यता कैद भुक्तान गर्नुपर्ने समय पनि जिल्ला अदालतमा चालू वर्षको कात्तिक मसान्तसम्मको जम्मा ५४४ वर्ष नौ महीना १८ दिन छ । यो आवमा १७५ वर्ष कैद फछ्र्योट गर्ने लक्ष लिइएको छ । यस वर्ष कात्तिक महीनासम्मको नयाँ लगत ८५ वर्ष पुगेको छ । अघिल्लो वर्ष जिम्मेवारी सरी आएको ५२८ वर्ष कैद रहेको अदालतले जनाएको छ ।
त्यस्तै जिल्ला अदालतबाट दण्ड जरिवाना लागेका र रकम असुल हुन बाँकी व्यक्ति तथा संस्थाको सङ्ख्या १७९ पुगेको छ । यसमा कैद सजाय मात्र गरिएका ६०, जरिवाना मात्र लागेका ६४ र दुवै सजाय भएका ५० व्यक्ति तथा संस्था रहेका न्यायाधीश सुवेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अदालतको यो तथ्याङ्क हेर्दा जिल्लामा दण्डहीनता बढ्दै गएको पाइन्छ । यति सानो जिल्लामा यत्रो जरिवाना रकम नै सङ्कलन गर्न बाँकी छ । दण्डहीनता अन्त्य गर्नाका लागि सबै पक्ष लाग्न जरुरी छ । ” रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस