अर्थ संसार, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले चालू आर्थिक वर्षको साउनयता ‘स्टिङ अपरेशन’का क्रममा ११ जना कर्मचारी रङ्गेहात फेला पारेको जनाएको छ ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा अख्तियारको हेटौँडा कार्यालयले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा ती कर्मचारीलाई रङ्गेहात फेला पारेको जनाएको हो । अख्तियारले चालू आवको पहिलो चौमासिक अवधिको विभिन्न मितिमा ‘स्टिङ अपरेशन’ चलाएको थियो ।
अख्तियार टोलीले धोबिनी गाउँपालिका पर्साका लेखापाल कृष्णानन्दन राय र नायब सुब्बा ऐनामूलक अन्सारीबाट रु एक लाख १० हजार, शहरी विकास तथा भवन डिभिजन कार्यालय भैरहवाका डिइ सुरेश ठाकुर पत्नी अनिता ठाकुरबाट रु १२ लाख ५० हजार नगद र रु २४ लाख २२ हजारको बैंक भौचरसहित रङ्गेहात फेला पारेको हो ।
मकवानपुर थाहा नगरपालिका पालुङबाट सव–इञ्जिनियर कलराज न्यौपाने रु दुई हजार, जुद्ध मावि गौरका शिक्षक प्रमोद ठाकुरबाट ४५ हजार, नापी कार्यालय गौरका धीरेन्द्रकुमार ठाकुरबाट रु १४ हजारसहित नियन्त्रणमा लिएको हो ।
विद्युत् प्राधिकरण भरतपुरका कार्यालय सहायक कृष्णबहादुर सुवेदीबाट रु २० हजार, वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृत मन्जुर आलम,नासु शशिभुषण साहबाट १ लाख, शिक्षा विकास तथा समन्वय एकाइ पर्साका उपसचिव लालबाबु साहबाट रु ४० हजार र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी हवल्दार सुधामा हजारबाट रु एक लाखसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
अख्तियारको हेटौँडा कार्यालयले चालू आवको कात्तिक मसान्तसम्म ५५५ उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये २५५ उजुरी फछ्र्याैट भइसकेका छन् । विस्तृत अनुसन्धान भइरहेका ५६ मध्ये २३ मुद्दामात्र फछ्र्यौट भएका छन् । हेटौँडास्थित कार्यालयले बारा, पर्सा, चितवन, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, दोलखा र रामेछाप जिल्ला हेर्दै आएको छ ।
आयोगका कार्यालय प्रमुख हुमकला पाण्डेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित उजुरी बढी आउने गरेको बताउनुभयो । आयोगले दिएका सुझाव पालना नगर्दा, सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा भ्रष्टाचार नियन्त्रणमा समस्या देखिएको उहाँको भनाइ छ ।
अख्तियारद्वारा आयोजित क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश शिवाकोटीले प्रदेश सरकारको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस