Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ र पोखराका ६ लाख ९२ हजारलाई फोर जी सेवा, अन्यत्रकालाई कहिले

बुधबार, १६ माघ २०७५, १७ : २९ मा प्रकाशित

काठमाडौँ र पोखराका ६ लाख ९२ हजारलाई फोर जी  सेवा, अन्यत्रकालाई कहिले

अर्थ संसार, काठमाडौँ– प्रतिनिधिसभाको अर्थ समितिले लाभ, लागत र व्यापारिक कार्ययोजनाको विश्लेषण गरेर चौथो पुस्ताको (फोर जी) सेवालाई एक वर्षभित्र देशव्यापी रूपमा विस्तार गर्न निर्देशन दिएको छ ।

न्यून लागतमा फोर जी सेवा विस्तार गर्न, व्यावसायिक कार्ययोजना बनाउन र लागू गर्न तथा प्रविधिको भरपुर प्रयोग गर्न समेत समितिले निर्देशन दिएको हो ।

समितिले फोर जी सेवा विस्तारबाट आगामी पाँच वर्षमा नेपाल टेलिकमको वित्तीय अवस्था सुदृढ भई सरकारलाई प्राप्त हुने राजश्व र लाभांश दोब्बर हुने आधारसहितको विश्वसनीय व्यावसायिक योजना बनाई लागू गर्न नेपाल टेलिकमलाई निर्देशन दिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

नेपाल टेलिकमको फोर जी सेवा विस्तार गर्ने निर्णय लिँदा हाल प्रक्रियामा रहेको ठेक्कालाई निरन्तरता दिने वा प्रविधिको स्तर वृद्धि गरी फोर जी सेवा उपलब्ध गराउने वा कानूनबमोजिमको सबैभन्दा छोटो प्रक्रिया अवलम्बन गरी नयाँ बोलपत्र आह्वान गर्ने विकल्पको लाभ लागत विश्लेषण गर्नसमेत भनेको छ ।

लागतको दृष्टिकोणले सबैभन्दा कम र लाभको दृष्टिकोणले सबैभन्दा बढी लाभ प्राप्त हुने विकल्प छनोट गर्न निर्देशन दिँदै समितिले उक्त निर्णयले पार्ने असर र प्रभावप्रतिको जिम्मेवारी तथा जवाफदेहिता निर्णय प्रक्रियामा संलग्न हुने सबैले बहन गर्नुपर्ने व्यवस्था गर्नसमेत ध्यानाकर्षण गराएको छ ।

समितिको बैठकमा सांसदहरूले टेलिकमको सेवालाई थप विस्तार गर्दै समयानुकूल बनाउने विषयमा सरकारले विशेष ध्यान दिई तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कुनै ढिलाइ हुन नहुनेमा जोड दिनुभएको थियो ।

 

उहाँहरूले समय सुहाउँदो प्रविधिका रूपमा रहेको फोर जी सेवाको विस्तारमा प्रभावकारी तवरले लाग्नुपर्ने र त्यसमा कुनै पनि प्रकारको अनियमितता हुन नहुने बताउनुभयो । पछिल्लो पटक नेपाल टेलिकमले एक चिनियाँ कम्पनीलाई फोर जी सेवा विस्तारको जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रको माध्यमबाट सो कम्पनीले फोर जी सेवा विस्तारको जिम्मा पाएको सन्दर्भमा त्यसको लागत बढी भएको उहाँहरूले गुनासो गर्नुभयो ।

 

टेलिकमले देशव्यापी रूपमा फोर जी सेवा विस्तारका लागि रु १८ अर्ब लगानी गर्न लागेको छ । टेलिकमले आगामी एक वर्षभित्र प्रमुख काम पूरा गर्ने गरी फोर जी सेवा विस्तार गर्न लागेको जनाएको छ । नेपाल टेलिकमले हाल काठमाडौँ र पोखराका छ लाख ९२ हजारलाई फोर जी सेवा उपलब्ध गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको