Like us!
Follow us!
Connect us!
Watch us!

लगानी सम्मेलन : विकसित मुलुकका सफलताका अनुभव

शनिबार, १६ चैत्र २०७५, १६ : ५२ मा प्रकाशित

लगानी सम्मेलन : विकसित मुलुकका सफलताका अनुभव

अर्थ संसार, काठमाडौँ– नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीति स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन् ।

आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै उनीहरुले नेपालले सम्मेलन गरेर वैदेशिक लगानीका लागि उचित ढोका खोलेको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गर्नुभएको सो सम्मेलनको आज समापन हुँदैछ ।

नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत साडिक जाफेरले आफ्नो मुलुकले खुल्ला अर्थतन्त्रमा विश्वास गर्ने र नेपालको छिमेकी भारतसँग व्यापारिक सम्बन्ध विकसित भइसकेकाले नेपालमा लगानी ल्याउन कठिनाई नहुने बताउनुभयो ।

संयुक्त अरब इमिरेट्स (युएई) का अर्थ मन्त्रालयका वैदेशिक व्यापार उपसचिव अब्दुल्लाह अल सालेहले वैदेशिक लगानी आकर्षित गर्न लगानी संरक्षण सम्झौता र दोहोरो कर उन्मुक्ति सम्भौता आवश्यक भएको बताउनुभयो ।

लगानीकर्तालाई कुनै प्रकारको कानूनी व्यवधान आउन नदिन सतर्क हुनुपर्ने भन्दै उहाँले त्यसका लागि नेपाल सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अन्य मुलुकको तुलनामा नेपालमा लगानी गर्ने लगानीकर्ताले उच्च प्रतिफल हासिल गर्न सक्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक लगानी भनेको रकम मात्र होइन, प्रविधि र ज्ञानको दक्षता पनि हो ।”

राजनीतिक स्थिरतासँगै अगाडि बढेको मुलुकमा लगानीको प्रचुर सम्भावना रहेको औँल्याउँदै उहाँले नेपालका दुई छिमेकीमूलुक यहाँका उद्योगीका लागि ठूलो बजार भएको बताउनुभयो । चीन युएईको पहिलो र भारत दोस्रो व्यापार साझेदारी मुलुक हो । युएई नेपालका लागि तेस्रो ठूलो व्यापार साझेदार मुलुक भएको तथ्य पेश गर्दै उहाँले दुई मुलुकबीच तीस करोड अमेरिकी डलर बराबरको व्यापार भएको उल्लेख गर्नुभयो ।

मलेसियाका लगानी विकाससम्बन्धी प्राधिकरणका प्रमुख कार्यकारी शिव सूर्यमूर्ति सुन्दर राजाले आफूहरुले शुरुमा लगानी भित्र्याउन विश्वका मुख्य मुलुकमा आफ्नो लगानी बोर्डको कार्यालय खोलेको र सम्पर्क विस्तार गरेको अनुभव सुनाउनुभयो । उहाँले लगानी बोर्डलाई अध्यागमनको निकायसँग तालमेल गर्दै लगानीकर्ताका लागि प्रमाणपत्र वितरण र लगानीका लागि सहजीकरण गर्न बोर्ड प्राधिकार हुनुपर्ने सुझाव दिनुभयो ।

नेपालको ज्योति समूहका अध्यक्ष पद्म ज्योतिले विकसित मुलुकका लगानी र विकासका सफलताका अनुभवले आफूहरुलाई समेत ऊर्जा मिलेको र नेपाल विकास तथा समृद्धिको मार्गमा अघि बढ्नसक्ने सम्भावना देखिएको औल्याउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको