Like us!
Follow us!
Connect us!
Watch us!

जनताको जलविद्युतमा समेटिए रसुवागढी र साञ्जेन, IPO बिक्री गर्ने

मंगलबार, १९ चैत्र २०७५, ०९ : ०४ मा प्रकाशित

जनताको जलविद्युतमा समेटिए रसुवागढी र साञ्जेन, IPO बिक्री गर्ने

अर्थ संसार, काठमाडौँ– सरकारले जनताको जलविद्युत् कार्यक्रममा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनालाई समावेश गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार बसेको जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई सोही कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको हो ।

बैठकले सो कार्यविधिमा आवश्यक संशोधन गरी शेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको ती दुई कम्पनीले निकट भविष्यमा नै आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।

जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिका सदस्य सचिव एवं एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले सो कार्यक्रममा दुई आयोजना थप भएको जानकारी दिनुभयो ।

नेपाल धितोपत्र बोर्डले रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीलाई यही चैत १० गते आम सर्वसाधारणलाई शेयर बिक्रीको स्वीकृति दिइसकेको छ । बोर्डले साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडलाई रु ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर बिक्रीको अनुमति दिएको छ ।

यस्तै रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको छ । रसुवामा निर्माणाधीन अवस्थामा रहेका साञ्जेनका दुई वटा आयोजना छन् । त्यसमा माथिल्लो साञ्जेनको क्षमता १४ दशमलव आठ मेगावाट रहेको छ भने साञ्जेनको क्षमता ४२ दशमलव पाँच मेगावाट छ ।

रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ । ती आयोजनाको भौतिक प्रगति औसतमा करिब ७० प्रतिशतको हाराहारीमा रहेको छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत कूल १९ वटा आयोजना छनोट गरी तीन हजार ५०० मेगावाट क्षमता बराबरको आयोजना निर्माणका लागि नागरिकबाट स्वपूँजीको ४९ प्रतिशत शेयर जुटाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार यही चैत ७ देखि ११ गतेसम्म माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको शेयर बिक्री भई बाँडफाँट भइसकेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत लगाताररुपमा शेयर बिक्री गर्ने निर्णयअनुसार नै दोस्रो चरणमा साधारण शेयर बिक्रीको तयारीमा रहेका रसुवागढी र साञ्जेनलाई समावेश गरिएको हो । ती दुई आयोजना चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको