सत्तारुढ दल नेपाली कांग्रेसले आज (शुक्रबार) बिहान ९ बजे पार्टीको पदाधिकारी बैठक बोलाएको छ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्नेछ।
बैठकमा पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रम, साथै हालसम्म टुङ्गो नलागेको राष्ट्र बैंकको गभर्नर नियुक्ति लगायतका विषयमा गम्भीर छलफल हुने भएको छ।
यसअघि, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो।
भेटमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल समेत सहभागी थिए। उनीहरूबीच गभर्नर नियुक्ति, सरकारको कार्यदिशा र सत्ता साझेदारबीचको आगामी समन्वयबारे छलफल भएको स्रोतको भनाइ छ।
त्यसपछिको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिको प्रस्ताव पेशै नगरिएको बुझिएको छ। बैठकले केही सामान्य निर्णय र विदेश भ्रमण स्वीकृति मात्र दिएको हो।
गभर्नर नियुक्तिमा ढिलाइ हुँदा राष्ट्र बैंक एक महिनादेखि नेतृत्वविहीन रहँदै आएको छ। कार्यवाहक गभर्नरकै भरमा देशको प्रधान आर्थिक नियामक संस्था सञ्चालन भइरहेको छ।
सरकारभित्र डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भए पनि प्रधानमन्त्री ओलीले गभर्नर नियुक्ति आफ्नो पोल्टामा राख्ने रणनीतिअनुसार निर्णय लम्ब्याइरहेको स्रोतहरू बताउँछन्। यही विषय आज कांग्रेसको बैठकमा प्रमुख एजेन्डा हुने विश्वास गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस