Like us!
Follow us!
Connect us!
Watch us!

साझाको ‘इ–टिकेटिङ’ : क्यास बोक्नु नपर्ने, कार्डबाटै भाडा तिर्न सकिने

मंगलबार, २६ चैत्र २०७५, ०८ : ३० मा प्रकाशित

साझाको ‘इ–टिकेटिङ’ :  क्यास बोक्नु नपर्ने, कार्डबाटै भाडा तिर्न सकिने

अर्थ संसार, काठमाडौँ– साझा यातायातले शुरु गरेको  ‘इ–टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ । ‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ ।

परीक्षणका रूपमा साझाले दुई साता पहिले इ–टिकेटिङ शुरु गरेको थियो । भाडाका लागि दैनिक रकम तिर्नुका साटो कार्ड खरीद गरेर भाडा तिर्न सजिलो हुने साझाले जनाएको छ । परीक्षणका लागि पुल्चोकस्थित कार्यालय वा बसका सहचालक लगायतका कर्मचारीमार्फत साझाले कार्डको बिक्री गरिरहेको प्रबन्धक महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो ।

इ–टिकेटिङ यात्रुका लागि नयाँ भएकाले अहिलेसम्म उनीहरुमा अन्योल रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार कतिपय यात्रुले सबै बसमा लागू होस् भन्ने चाहेका छन् । उहाँले भन्नुभयो, “कार्ड किनेपछि साझाको मात्रै नभएर अरू बसहरुमा समेत लागू हुँदा यात्रुलाई समेत सजिलो हुन्छ ।”

साझा यातायातले सार्वजनिक यातायातका क्षेत्रमा नयाँ नयाँ सुविधा भित्र्याएको छ । नयाँ सुविधाकै रुपमा ‘इ–टिकेटिङ’ रहेको प्रबन्धक पाण्डेयले बताउनुभयो । साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी ९सिटी० बस थपेको  छ । विसं २०१९ मा बस सेवा शुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो ।

विभिन्न समस्याका कारण दुई दशकसम्म साझाको यातायात सेवा ठप्प भयो । विसं २०७० वैशाखदेखि साझाले नयाँ बस खरीद गरेर पुनः सेवा सञ्चालन गरेको थियो । पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बसहरु अहिले काठमाडौँ उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ ।

साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरीद गरेर सेवा विस्तार गरिरहेको छ । साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा ल्याएको छ ।

साझाले काठमाडौँदेखि बाग्लुङ र काठमाडौँदेखि कुश्मासम्मको लामो दूरीका दुई–दुई बससमेत सञ्चालन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको