अर्थ संसार, काठमाडौँ- जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब ५४ करोड बढीको साधारण शेयर बिक्री गर्न लागेको हो ।
ती कम्पनीले आज छुट्टा–छुट्टै आह्वानपत्र सार्वजनिक गरी साधारण शेयरमा आवेदन दिन लगानीकर्तालाई आग्रह गरेका हुन् । सूचनाअनुसार रसुवागढीले रु एक अर्ब अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो । त्यसमा चार लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी र पाँच लाख १३ हजार १५७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । उक्त आधारमा सर्वसाधारणका लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर बिक्री गरिनेछ ।
यस्तै सान्जेनले रु ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गर्नेछ । त्यसमा दुई लाख ७३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोष र दुई लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याई ४९ लाख ८२ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको आज प्रकाशित सूचनामा उल्लेख छ ।
बिक्री बन्द छिटोमा आगामी वैशाख १० गतेसम्म र पहिलो चरणमा बिक्री नभए आगामी जेठ ५ गतेसम्म हुनेछ । सर्वसाधारण शेयरधनीले दुवै आयोजनामा न्यूनतम ५० कित्ताका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै रसुवागढी जलविद्युत्को आइपिओमा अधिकतम पाँच हजार कित्ता र सान्जेन जलविद्युत्को शेयरमा अधिकतम दुई हजार कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था छ ।
प्राथमिक शेयरमा आवदेन दिनका लागि नेपाल धितोपत्र बोर्डले आस्वा सुविधा प्रदान गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरमा खाता हुनेले अनलाइनमार्फत आवदेन दिन सक्ने व्यवस्था छ । आयोजनाको संस्थापक शेयरधनीमा चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरणलगायत छन् । संस्थापकतर्फको शेयरपूँजी ५१ प्रतिशत र सर्वसाधारणतर्फको शेयरपूँजी ४९ प्रतिशत छ ।
सरकारले यही चैत १८ गते मात्रै ती आयोजनालाई जनताको जलविद्युत् आयोजनामा समावेश गरेको हो । जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई सोही कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको थियो । नेपाल धितोपत्र बोर्डले रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीलाई यही चैत १० गते सर्वसाधारणलाई शेयर बिक्रीको स्वीकृति दिइसकेको छ । रसुवामा निर्माणाधीन साञ्जेनका दुई आयोजना छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस