Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

मंगलबार, २४ बैशाख २०७६, १० : ३८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजना अन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ । 

करिडोर निर्माणसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु शोभा भगवती हुँदै कालिमाटीसम्म जान सहज हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकारी दिनुभयो । यसअघि महाशाखाले बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याइसकेको छ ।
 
करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारीसाधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै दुर्घटनामा कमी आउने महाशाखा प्रमुख पन्तले बताउनुभयो । गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ उपत्यकालाई नमूना राजधानीका रूपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार ट्राफिक प्रहरीले तीनमहीने कार्ययोजना बनाएर करिडोर खोल्ने काम शुरु गरेको हो ।
  
महाशाखाले हालसम्म सुकेधारा, गौशालाचोक, धुम्बाराही, चप्पलकारखाना र शङ्खपार्कमा जेब्राक्रसिङ निर्माण, चाबहिल र सुकेधारामा स्टपलाइन निर्माण, तीन हजारभन्दा धेरै मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतनाकक्ष सञ्चालन गरिसकेको छ । यस्तै, चावहिलदेखि सुकेधारासम्म सडकको बीच भागमा लाइन निर्माण तथा नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जनाएको छ ।
  
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नेपालको राष्ट्रिय बसपार्क क्षेत्रमा हुने जाम कम गर्न करिडोरले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । “करिडोर निर्माणसँगै बसपार्क पुलमा हुने जाममा कमी आउँछ”, उहाँले भन्नुभयो । यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको