Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँका आठ स्थानमा ट्राफिक बत्ती

मंगलबार, २४ बैशाख २०७६, १७ : ०१ मा प्रकाशित

काठमाडौँका आठ स्थानमा ट्राफिक बत्ती

अर्थ संसार, काठमाडौं - काठमाडौँको आठ स्थानमा ट्राफिक बत्ती जडान शुरु भएको छ । कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क चोकमा ट्राफिक बत्ती जडान गर्न लागिएको हो ।

काठमाडौँका धेरै स्थानमा ट्राफिक बत्ती आवश्यक भए पनि बढी आवश्यक स्थान छनोट गरेर ट्राफिक बत्ती जडान भइरहेको सडक विभागले जनाएको छ । यसअघि ट्राफिक बत्ती भएर पनि बिग्रिएका ठाउँमा र पहिले नभएका दुबै खालका स्थान छनोट भएको छ । 

ठेकेदार कम्पनीले कालीमाटी चोकमा बत्ती जडान गरिसकेको र पद्मोदय घुम्ती र सिंहदरबारअघि जडान गर्ने काम अन्तिम चरणमा पुगेको विभागका सुरक्षा तथा ट्राफिक शाखा महाशाखाका प्रमुख दिप बाराहीले बताए । तीनकुने, पुरानो बानेश्वर र मित्रपार्कमा पोल निर्माणको काम भइरहेको उनले बताए । उनले भने, “यी सबै स्थानमा आगामी महीनासम्ममा काम सम्पन्न हुने हामीले आशा गरेका छौँ ।”

अहिले बत्ती जडान भएका स्थानमा पहिले एक साता बत्तीको परीक्षण हुने र ट्राफिक प्रहरीलाई तालीम दिइने प्रमुख बाराहीले बताए । उनका अनुसार ट्राफिक बत्ती विभिन्न समय र मौसममा कुनै खराबी नदेखिएमा एक महीनामा नै नियमित रुपमा सञ्चालन गर्ने तयारी भएको छ । 

काठमाडौँमा वर्षेनी सवारीको चाप बढिरहे पनि ठाउँठाउँमा ट्राफिक बत्ती नहुँदा सवारी चाप र दुर्घटना हुने गरेको छ । काठमाडौँमा मात्रै झण्डै २०० स्थानमा स्थानीयवासीले ट्राफिक बत्तीको माग गरिरहेको बताउँदै प्रमुख बाराहीले भने, ‘‘विभागले गरेको अनुसन्धानमा पनि ६० स्थानभन्दा बढी स्थानमा ट्राफिक बत्ती आवश्यक देखिएको छ ।’’ हाल ललितपुर र भक्तपुरमा तीन÷तीन स्थानमा मात्रै ट्राफिक बत्ती रहेका छन् ।

उनले भने, “एक वर्षको बजेटले जति ठाउँमा बनाउन सकिन्छ, बाँकी स्थानमा अर्काे वर्षको बजेटले बनाउने योजना छ ।’’ यसअघि काठमाडौँ जिल्लामा जम्मा २० स्थानमा ट्राफिक बत्ती भए पनि जम्मा पाँच वटा मात्रै सञ्चालनमा थियो । रु एक करोड नौ लाखको लागतमा नेपाली प्राविधिकले नै बत्ती जडानको काम गरिरहेका छन् । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको