Like us!
Follow us!
Connect us!
Watch us!

'लुम्बिनी भ्रमण वर्ष २०७६' मनाउँदै प्रदेश सरकार

कमला भुसाल

बुधबार, २५ बैशाख २०७६, १७ : ५५ मा प्रकाशित

'लुम्बिनी भ्रमण वर्ष २०७६' मनाउँदै प्रदेश सरकार

अर्थ संसार, काठमाडौं – प्रदेश सरकार प्रदेश नं. ५ ले लुम्बिनी भ्रमण वर्ष २०७६ को आयोजना गर्ने भएको छ । सन् २०२० मा आन्तरिक र बाह्य गरी २० लाख पर्यटक भित्र्याउने उद्देश्यले यस प्रदेशले २०७६ साल देखि भ्रमण वर्ष मनाउन लागेको हो । 

प्रदेश सरकारले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक हिसावले प्रदेश नम्बर पाँच पर्यटकहरुका लागि महत्वपुर्ण रहेको बताउँदै जीवनमा एक पटक बुद्धको जन्मभुमिमा पुग्ने आकाँक्षा बोकेका दुनियाँभरिका ढेड अर्ब बुद्धमार्गीहरुलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्न सकिन्छ भन्ने निष्कर्षका साथ भ्रमण वर्ष मनाउन लागिएको बताएको हो । 

संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागिरहेका बेला त्यसलाई सहयोग पुग्ने गरी प्रदेशमा पनि लुम्बिनी भ्रमण वर्षको तयारी गरिएको प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताए ।

'लुम्बिनी भ्रमण वर्ष'ले लुम्बिनी क्षेत्रमात्र नभएर पाल्पा, दाङ, सुपादेउराली, बर्दिया राष्ट्रिय निकुञ्ज, स्वर्गद्वारी लगायत प्रदेश नं. ५ का सबै धार्मिक  तथा पर्यटकीय स्थललाई स्थापित गर्ने प्रदेश सरकारको उद्देश्य रहेको उनले बताए ।

मन्त्री गिरीले लुम्बिनी बौद्ध दर्शन र शान्तिको पवित्र उद्गमस्थल रहेको बताए । लुम्बिनीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थापित गरी पर्यटकीय गन्तव्य निर्माण गर्ने उनले बताए । 

कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी क्षेत्र सास्कृतिक रुपमा विकास भएपनि पर्यटकीय हिसाबमा अझै पनि अघि बढ्न नसकेको बताए ।

उनले लुम्बिनी संरक्षणका तर्फबाट काम त भए तर पर्यटकीय विकासका लागि भने त्यति काम हुन नसकेको बताए । लुम्बिनी वरिपरी भएका सम्पदाहरुलाई संरक्षण र पर्यटनका दृष्टिले विस्तार हुन नसकेको बताउँदै यिनै कुराहरुलाई आधार बनाएर प्रदेश नं. ५ लाई पर्यटकीय क्षेत्र बनाउने कुरामा उनले जोड दिए ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनीलाई पर्यटकीय हिसाबमा अघि बढाउन र प्रदेश नम्बर ५ को समृद्धिका लागि प्रदेश सरकारले ध्यान केन्द्रित गरेको बताए ।उनले भने,'लुम्बिनी घुम्न आउने पर्यटकलाई हरेक किसिममा सुविधा उपलब्ध गराउन प्रदेश सरकार तयार छ। लुम्बिनी आउने पर्यटकलाई कुनै किसिमको असुबिधा हुन दिन्नौँ, त्यसका लागि प्रदेश सरकारले काम गरिरहेको छ । ' 

लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारले ४ करोड बजेट बिनियोजन गरेको समेत मुख्यमन्त्री पोखरेलले बताए ।

आउँदो जेठ ४ गते बुद्ध पूर्णिमाका दिन राष्ट्रपतिबाट भव्य समारोह गरी भ्रमण वर्षको आरम्भ गरिने भएको छ । कार्यक्रमका लागि रूपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिएको  मुख्यमन्त्री पोखरेलले बताए ।

भ्रमण वर्षका क्रममा लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदीलगायतका क्षेहरुलाई समेटेर प्रवद्र्धनात्मक कार्यक्रमहरु गरिने छ । भ्रमण वर्षका क्रममा मायादेवी प्रसूतिमार्ग घोषणा एवं प्रसूति उत्सव गर्ने कार्यक्रम पनि तय गरिएको छ । 

यस्तै, लुम्बिनी फुड फेस्टिवल, सुजाता खीर उत्सव, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फुल मून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, पूजाआजा, योग तथा ध्यान शिविर र सडक प्रदर्शनीको आयोजना गरिने छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको