Like us!
Follow us!
Connect us!
Watch us!

चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिकः निफ्राको खुद नाफामा झन्डै २०% गिरावट

अर्थ संसार

विहीबार, ०७ साउन २०८३, ०८ : २२ मा प्रकाशित

चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिकः निफ्राको खुद नाफामा झन्डै २०% गिरावट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो नाफामा उल्लेखनीय गिरावट आएको जनाएको छ। बैंकले समीक्षा अवधिमा ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब २३ करोड ४० लाख ५ हजार रुपैयाँको तुलनामा १९.९८ प्रतिशतले कम हो।

नाफामा आएको गिरावटसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि खुम्चिएको छ। गत वर्ष यही अवधिमा ५.७१ रुपैयाँ रहेको ईपीएस चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म ४.५७ रुपैयाँमा झरेको छ। यसले बैंकको प्रतिफल क्षमतामा दबाब परेको संकेत गरेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी समेत उल्लेखनीय रूपमा घटेको छ। बैंकले १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.८९ प्रतिशतले कम हो। ब्याज आम्दानीमा आएको कमीले समग्र सञ्चालन आम्दानीमा पनि प्रत्यक्ष प्रभाव पारेको देखिन्छ।

त्यसैगरी, बैंकको खुद सञ्चालन आम्दानी घटेर १ अर्ब ७१ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो आम्दानी २ अर्ब १० करोड ५३ लाख रुपैयाँ पुगेको थियो।

सञ्चालन नाफातर्फ पनि बैंकले कमजोर प्रदर्शन गरेको छ। समीक्षा अवधिमा सञ्चालन नाफा १९.७९ प्रतिशतले घट्दै १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिमा सञ्चालन नाफा १ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ रहेको थियो।

यद्यपि, बैंकको इम्पेयरमेन्ट चार्ज २१ करोड २७ लाख रुपैयाँले रिभर्सल भएको छ, जसले सम्पत्ति गुणस्तरमा सकारात्मक संकेत दिएको छ। अझ उल्लेखनीय कुरा, बैंकको निष्क्रिय कर्जा (एनपीएल) शून्य प्रतिशत कायम रहेको छ। समीक्षा अवधिमा रिटर्न अन इक्विटी (आरओई) ३.८७ प्रतिशत तथा कस्ट अफ फण्ड ६.४६ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।

निक्षेप संकलनमा भने बैंकले सामान्य वृद्धि हासिल गरेको छ। बैंकको निक्षेप ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँबाट बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ। यस्तै, समीक्षा अवधिसम्म बैंकको कर्जा तथा सापटी लगानी ३१ अर्ब ४२ करोड रुपैयाँ कायम रहेको छ।

प्रति सेयर आधारमा बैंकको नेटवर्थ ११७.२२ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ५३.७३ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९३.७४ रुपैयाँ तथा तरलता अनुपात ८३.४७ गुणा कायम भएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको