Like us!
Follow us!
Connect us!
Watch us!

देश बन्न युवालाई विकास निर्माणमा लगाउनु पर्छ – कलाकार हमाल

अर्थ संसार

विहीबार, २६ बैशाख २०७६, १२ : ३७ मा प्रकाशित

देश बन्न युवालाई विकास निर्माणमा लगाउनु पर्छ –  कलाकार हमाल

अर्थ संसार, बाजुरा– नेपाली चलचित्र क्षेत्रका कलाकार राजेश हमालले युवालाई समृद्धिको प्रमुख स्रोतका रुपमा व्याख्या गर्नुभएको छ । बाल स्याहारगृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आउनुभएका कलाकार हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताउनुभयो ।
 
हमालले कान्छो अभियानकर्मी केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहारगृहप्रति लक्षित गर्दै केपी खनाल सबैको प्रेरणाको स्रोत हुनुपर्ने बताउनुभयो ।
 
बहुसङ्ख्यक युवामा प्रतिभा भए पनि अवसर नपाएर शक्ति खेर गएको उहाँको भनाइ थियो । उहाँका अनुसार अवसरको कमी छ, राज्यले त्यसको प्रत्याभूति दिन सके युवाशक्तिलाई समृद्धिका लागि प्रयोग गर्न सकिन्छ । “जीवन आफ्ना लागि सबैले बाँच्न सक्छन्, तर अरुका लागि केही गरेर मर्नु नै महानता हो”, हमालले भन्नुभयो ।

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले अनाथको अभिभावक हुने सौभाग्य प्राप्त गर्ने परोपकारी व्यक्तित्व समाजका ‘आइडल’ भएको बताउनुभयो ।
 
गृह निर्माणकर्ता एवं कान्छो अभियानकर्मी खनालले साझा हित र परोपकारी कार्य राजनीतिक आस्था र स्वार्थभन्दा माथि राखेर गर्न आग्रह गर्नुभयो । क्लिन काष्ठमाण्डप अभियानका खनालले बाजुराजस्तो दुर्गम क्षेत्रमा आएर अनाथका लागि आश्रम बनाउन पाउँदा निकै खुशी लागेको बताउनुभयो । खनालले ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं समाज सेवी लोकबहादुर टण्डन र कलाकार राजेश हमालको साथकै कारण अनाथ आश्रम बनाउन सफल भएको बताउनुभयो ।

बाल स्याहारगृह अघिल्लो वर्षको वैशाख २५ गते शिलान्यास गरिएको थियो भने उद्घाटन पनि सोही दिन गरिएको हो । भवन रु ५० लाख बढी लागतमा निर्माण गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको