Like us!
Follow us!
Connect us!
Watch us!

कल्याणकुमार श्रेष्ठ ‘फेल’ ‘‘सुन्ने बित्तिकै म आफ्नो ठाउँबाट उठे र हाँसे”

विहीबार, २६ बैशाख २०७६, १६ : ०३ मा प्रकाशित

कल्याणकुमार श्रेष्ठ ‘फेल’ ‘‘सुन्ने बित्तिकै म आफ्नो ठाउँबाट उठे र हाँसे”

अर्थ संसार, काठमाडौै– आफैले ‘कखरा’ सिकेको विद्यामन्दिर माविमा बुधबार प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो, पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ ।

यसपालि श्रेष्ठ विद्यालय आउनुको उद्देश्य भिन्न थियो । कमैलाई यस्तो सौभाग्य मिल्छ्, जुन उहाँलाई मिल्यो । भूकम्पपछि पुनःनिर्मित भवनको उद्घाटन श्रेष्ठले गर्नुभयो । उद्घाटनपछि  उहाँले भन्नुभयो, “मैले सोचेको थिइनँ, म यो विद्यालयको पूर्वविद्यार्थी मैले नै यसको नयाँ भवन उद्घाटन गर्नुपर्ला भनेर ।” सोही क्रममा श्रेष्ठले विद्यालयमा बिताएका बाल्यकालीन दिनहरुको सम्झना गर्नुभयो ।

विसं २०१५ तिर श्रेष्ठ कक्षा १ मा भर्ना हुनुभएको थियो । पढाइ शुरु गरेको केही महीनामै नतिजा आयो । अभिभावक र साथीभाइसँग रमाउँदे नतिजा सुन्न उहाँ विद्यालय पुग्नुभयो । शिक्षकबाट ‘फेल’ भन्ने घोषणा भयो । “नाम सुन्ने बित्तिकै म आफ्नो ठाउँबाट उठे र हाँसे”, श्रेष्ठले भनुभयो, “घरमा पुगेर खुशी हुँदै फेल भएको खबर सुनाएँ ।” घर पुगेपछि उहाँलाई बल्ल थाहा भयो ‘फेल’ भनेको कमजोर भन्ने रहेछ । “फेल, पास भनेको पनि थाहा नपाउने अवस्थामा म थिएँ”, उहाँले भन्नुभयो, “तर म अहिले जहाँ छु यसमा विद्यामन्दिरको जग र प्रेरणा छ ।”

श्रेष्ठले कक्षा १ को ‘फेल’ नै आफ्नो जीवनको पहिलो र अन्तिम ‘फेल’ भएको उल्लेख गर्नुभयो । त्यसयता उहाँले कहिल्यै पछि फर्कनु परेन, न त ‘फेल’ को नमीठो अनुभव भोग्नुपर्यो । “मैल हार्वड, म्याम्ब्रिजमा पढ्न पाइनँ तर विद्यामन्दिरमा पढ्न पाएँ”, श्रेष्ठले भन्नुभयो, “विद्यामन्दिर पढ्न नपाएको भए आजको कल्याण हुने थिएन ।”

कुनै विख्यात विश्वविद्यालय पढ्न नपाएकामा गुनासो नरहेको भन्दै विद्यामन्दिरबाट अक्षराम्भ गरेका दिनहरु सम्झदा गौरवको अनुभूति हुने धारणा राख्नुभयो । उहाँले आफ्नो ज्ञान, चिन्तन र विचारको पृष्ठभागमा विद्यामन्दिर रहेको उल्लेख गर्नुभयो ।

मन्तव्यकै क्रममा पूर्वन्यायाधीश श्रेष्ठले देशको शिक्षा प्रणाली सुधार्नुपर्नेमा जोड दिनुभयो । वैज्ञानिक, व्यावहारिक र सीपयुक्त शिक्षा दिन नसके सक्षम जनशक्ति तयार नहुने उहाँको धारणा छ । “मुलुकलाई गतिलो शिक्षा प्रणाली चाहिन्छ”, उहाँले भन्नुभयो, “अप्रगतिशील र हिजोकै थोत्रो पाठ्यक्रमले आजको समस्या समाधान हुँदैन ।”

विद्यार्थीलाई जिज्ञासु, अन्वेषण गर्न सक्ने, आलोचनात्मक दृष्टिकोण भएको र समस्या समाधान गर्न सक्ने हैसियतमा पुर्याउनुपर्ने उहाँको भनाइ छ । नवीन सोच र चिन्तन बिना पढाइको प्रमाणपत्रले मात्र कुनै योग्यता नराख्ने भन्दै उहाँले शिक्षालाई समाज, उत्पादन र जीवन पद्धतिसँग जोड्नुपर्ने विचार व्यत्तः गर्नुभयो ।

श्रेष्ठले बागलुङ नगरपालिका–३ स्थित विद्यामन्दिर माविबाट विसं २०२४ मा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएको थियो । विद्यामन्दिरबाट विद्यालय शिक्षा पूरा गरी उच्च शिक्षा अध्ययनका लागि श्रेष्ठ काठमाडौँ पुग्नुभयो । विसं २०२९ सालदेखि न्यायसेवामा प्रवेश गर्नुभएका श्रेष्ठ विसं २०७२ मा न्यायालयको सर्वोच्च पदमा पुग्नुभयो । श्रेष्ठ न्याय क्षेत्रको एक निर्भिक र जुझारु न्यायाधीशका रुपमा चिनिनुहुन्थ्यो । २००८ सालमा बानपा–३ स्थित नयाँ बजारमा जन्मनुभएका श्रेष्ठले सर्वोच्च अदालतको न्यायाधीश हुँदा गरेका फैसलाहरु विदेशमा समेत चर्चित छन् । घरेलु हिंसा, महिला हिंसा जस्ता मुद्दामा ‘फास्ट ट्र्याक’ अवधारणा उहाँले नै ल्याउनुभएको थियो । न्याय प्रणालीलाई प्रविधियुक्त बनाउने, सञ्जालीकरण गर्नेदेखि न्यायक्षेत्र सुधारमा श्रेष्ठको योगदान छ ।
    
श्रेष्ठले न्यायक्षेत्र सुधारसम्बन्धी विभिन्न आयोग र समितिको संयोजकसमेत भएर काम गरिसक्नुभएको छ । स्वच्छ छवि र कुशल नेतृत्वदायी भूमिकाका कारण श्रेष्ठ न्यायक्षेत्रमा सँधैँ चर्चामा आउने गर्नुहुन्थ्यो । श्रेष्ठ जिल्ला न्यायाधीश, अञ्चल न्यायाधीश, पुनरावेदन हुँदै उहाँ विसं २०६२ मा सर्वोच्च अदालतमा पुग्नुभएको थियो । प्रधानन्यायाधीशबाट २०७२ चैतमा अवकाश लिनुभएका श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशात्र र नेपालीमा स्नातकोत्तर गर्नुभएको छ ।

विसं २०७२ को भूकम्पले विद्यालय भवनमा क्षति पुर्याएपछि विसं २०७३ असारदेखि विद्यालयको पुनःनिर्माण शुरु गरिएको थियो । २६ कोठे नयाँ भवन विद्यालयका पूर्वविद्यार्थीलगायत दाताहरुको सहयोगमा निर्माण भएको हो । रु चार करोड ३७ लाखको लागतमा भवन बनेको छ । विसं १९९७ सालमा खुलेको विद्यालयमा अहिले एक हजार ३०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ११ र १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायको पढाइ हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको