Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष रेग्मी धरौटीमा रिहा

कमला भुसाल

विहीबार, ०९ जेठ २०७६, १३ : ५२ मा प्रकाशित

उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष रेग्मी धरौटीमा रिहा

अर्थ संसार, काठमाडौं- उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटीमा रिहा भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङस्थित सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले रेग्मीलाई बुधबार पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनी जिल्ला प्रशासन कार्यालय चितवनमा रु ५४ हजार धरौटी जम्मा गरी रिहा भएका हुन् । यसअघि पक्राउ परेका तीन जनाले पनि सोही रकम बराबर धरौटी जम्मा गरी रिहा भएका थिए । सो घटनामा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका–९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका–८ का खिलप्रसाद घिमिरे र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष गोकर्ण गिरी पक्राउ परी धरौटी राखेर रिहा भएका थिए । घटनाका समयमा लिइएको भिडियोका आधारमा उनिहरुलाई पक्राउ गरिएको थियो ।

सङ्कलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्सट्रक्सन प्रालिले रेग्मीसहित उहाँहरुविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो । सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब रु चार लाखसमेत लुटिएकाले उजुरी गरेका थिए । प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएकी छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुई पक्राउ

जबर्जस्तीकरणी गरी फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये एक जनालाई भारतीय सीमा क्षेत्र सुनौली र अर्कोलाई जिल्लाबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको प्रेस विज्ञप्तिमा वैशाख ६ गते दिउँसो माडी नगरपालिका–५ छरछरेमा १५ वर्षीया किशोरीलाई जबर्जस्तीकरणी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले सुनौलीबाट पक्राउ गरेको हो ।

स्थानीय ३८ वर्षीय शम्शेर विकले सोही ठाउँका १५ वर्षीया किशोरीलाई घर नजीकै न्युरो टिप्न गएको समयमा जबर्जस्तीकरणी गरी फरार भएका थिए । भारतीय प्रहरीको सहयोगमा सुनौली नाकाबाट निजलाई बुधबार पक्राउ गरिएको हो । यसैगरी भरतपुर महानगरपालिका–१६ का २५ वर्षीय सुवास परियारलाई आज बिहान पक्राउ गरिएको छ ।

परियारले स्थानीय १२ वर्षीया बालिकालाई घरमा नै बोलाएर वैशाख ३० गते जबर्जस्तीकरणी गरी फरार भएका थिए । पक्राउ परेका दुवै जनालाई प्रहरीले आज म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको