Like us!
Follow us!
Connect us!
Watch us!

चेपाङ-महाभारत पदमार्गको सम्भाव्यता अध्ययन सुरु

कमला भुसाल

आइतबार, १२ जेठ २०७६, ११ : २७ मा प्रकाशित

चेपाङ-महाभारत पदमार्गको सम्भाव्यता अध्ययन सुरु

अर्थ संसार, धादिङ - सरकारले पर्यटकीय गन्तव्यस्थल ‘चेपाङ–महाभारत पदमार्ग’को सम्भाव्यता अध्ययन शुरु गरेको छ । धादिङ, मकवानपुर र चितवन तीन जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा जोड्नका लागि सो पदमार्ग उपयुक्त देखिएको छ ।

अन्वेशषात्मक तथा प्रवद्र्धनात्मक भ्रमणले ती तीन जिल्लामा पर्ने पदमार्गले पर्यटकीय क्षेत्रको विकास गर्न सकिने निष्कर्ष निकालिएको छ । एउटै पदमार्गबाट बाह्य तथा आन्तरिक पर्यटकले तीन जिल्लाको सांस्कृतिक, धार्मिक र प्राकृतिक वातावरणको समेत अवलोकन गर्न सक्नेछन् ।
रकारको नीति तथा कार्यक्रममा उक्त पदमार्गको उल्लेख गरिएपछि नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)ले सम्भाव्यता अध्ययन शुरु गरेको हो ।

चन्द्रागिरिको दर्शन गरेपछि पर्यटकलाई चितवनको शक्तिखोरसम्म पदमार्गमा लैजान सकिने छ । अध्ययनका क्रममा टोलीले धादिङको धुनीबेँसी नपा वडा नं ७ को तोपलाङ, मजुवा, लिखु, धुनीबेँसी, गुर्दुम, मकवानपुरको थाहानगर नपा वडा नं १० को सलामपुर हुँदै धादिङको थाक्रे गाउँपालिका वडा नंं ५ को पोखरीचौर, दामीचौर, वडा नं ६ को रानीझरना, वडा नं ३ को भूमिचुली र झण्डाचुलीको अध्ययन गरेको थियो ।

यस्तै, धादिङ र मकवानपुरको सीमाक्षेत्रमा पर्ने झण्डाचुलीबाट १४ जिल्ला र १२ हिमाल हेर्न सकिन्छ । झण्डाचुलीबाट गणेश हिमाल, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, मनास्लु, जुगल, गौरीशङ्करलगायतका १२ हिमालका दृश्य हेर्न सकिने गल्छी गापा वडा नं ६ कोइलीखर्कका स्थानीय गोपाल तामाङले जानकारी दिए ।

यस्तै, धादिङको गल्छी गापाको वडा नं ५ कोइलीखर्क, गजुरी नगरपालिकाको सुन्दरनागी, बेनीघाट रोराङ गापा वडा नं ८ स्थित नोहक गुफाको अवलोकन गर्दै चितवनको राप्ती नगरपालिको सानान्द्रगढी र इच्छाकामना गापाको चेपाङ बस्तीको अवलोकन गरेको टोलीका रामेश्वर कार्कीले जानकारी दिए ।

उनले अध्ययनका क्रममा काठमाडौँको चन्द्रागिरिदेखि चितवनको शक्तिखोरसम्म पर्यटकलाई पदयात्रा गराउँदा यहाँका संस्कृति, कला, सांस्कृतिक सम्पदा र जडीबुटीबारे जानकारी दिन सक्ने बताए । यस्तै थाक्रे गापा–६ स्थित रानीबारीमा रहेको रानीझरनामा क्यानोनिङका लागि उपयुक्त रहेको छ ।

उक्त पदमार्गमा पर्ने मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित कैलाश बैकुण्ठ शक्तिपीठलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । पदमार्गका क्रममा पर्यटकले आफूलाई इच्छाअनुसारको त्रिशूली नदीमा र्याफटिङ, मनकामना दर्शन, चितवनको सौराहा, पोखरासम्म जान सक्नेछन् ।

टानका सदस्य पूर्णकुमार शेर्पाले पदमार्गमा पाइएका अध्ययनले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले उक्त पदमार्गमा पर्ने ठाउँ पर्यटकीय क्षेत्रका लागि महत्वपूर्ण भएको बताए । उनले उक्त पदमार्गमा सांस्कृतिक पर्यटनस्थल रहेकाले नेपाल भ्रमण वर्षमा पर्यटन भित्र्याउन सकिने बताए ।

टानका अनुसन्धानकर्ता सेर्फु शेर्पाले अध्ययन क्रममा उक्त पदमार्गमा पर्यटकलाई आकर्षण गर्ने पर्यटकीय क्षेत्र रहेको बताए । “पदमार्गमा पर्ने तामाङ र चेपाङ समुदायमा होमस्टे (घरबास) सञ्चालन गरेर पर्यटकलाई आकर्षण गर्न सकिन्छ’’, उनले भने, ‘‘यसका लागि पहिले भौतिक पूर्वाधार र समुदायमा जनचेतना जगाउन आवश्यक रहेको छ ।” रासस

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको