Like us!
Follow us!
Connect us!
Watch us!

तातोपानी नाका ४ वर्षपछि सञ्चालनमा

कमला भुसाल

मंगलबार, १४ जेठ २०७६, ११ : ४२ मा प्रकाशित

तातोपानी नाका ४  वर्षपछि सञ्चालनमा

अर्थ संसार,काठमाडौं- भूकम्पका कारण चार वर्ष देखि बन्द रहेको तातोपानी नाका आज मंगलबारदेखि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो । ती कन्टेनर बुधबार काठमाडौं आइपुग्ने जनाइएको छ । सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी मंगलबार बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश गराइएको हो ।

चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ । गोरखा भूकम्पले नेपाल चीन जोड्ने मितेरी पुल भत्किएपछि तातोपानी नाका बन्द भएको थियो । अहिले पनि मितेरीपुलको निर्माण भैरहेको छ ।

नेपाल–चीन जोड्ने मितेरी पुल निर्माणको काम भैरहेकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकबाट नै कन्टेनर गएका चीनतर्फ गएका हुन् । नेपाल सरकारको पटक–पटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो । बुधबार तिब्बतको खासाबाट ऊन बोकेका कन्टेनर नेपाल प्रवेश गर्ने छन् । ती मालबाहक ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन् । सम्भवतस् बुधबार मितेरी पुलबाट नै कन्टेनर नेपाल प्रवेश गराइने सम्भावना पनि रहेको छ ।

भूकम्पअघि व्यस्त रहने यो नाका विगत ४ वर्ष सुनसानजस्तै रह्यो । यहाँ पर्यटकीय चहलपहल र आवतजावत समेत नहुँदा आसपासका होटल व्यवसायी मर्कामा थिए । नाका सञ्चालनमा आएसँगै यस क्षेत्रमा बेग्लै रौनक र उत्साह देखिएको छ । विगतमा यो नाका हुँदै सामान बोक्ने कन्टेनर र अन्य सवारी साधन गरी दैनिक १५ सय हाराहारी सवारीसाधन आवत जावत गर्थे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको