Like us!
Follow us!
Connect us!
Watch us!

बालिका खजुमलाई सहयोग गर्न कोष खडा

कमला भुसाल

शुक्रबार, १७ जेठ २०७६, १४ : ५४ मा प्रकाशित

बालिका खजुमलाई सहयोग गर्न कोष खडा

अर्थ संसार, काठमाडौं- दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको पालनपोषणमा सहयोग जुटाउन अभियान थालिएको छ ।

पाँचथर घर भई काठमाडौँमा बस्दै आएका महिला अगुवाहरुको सक्रियतामा रु १० लाखको कोष रहने गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको अभियानकी संयोजक कान्ता रिजालले बताए  । यसका लागि महिला अधिकारका क्षेत्रमा क्रियाशील रिजालको संयोजकत्वमा तथा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र काङ्ग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्गदेम्बे संरक्षकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । उहाँका अनुसार अभियानका क्रममा हाल रु दुई लाख जुटिसकेको र १० लाख जम्मा गरिने छ । रु १० लाखको कोष निर्माण गरी त्यो कोषबाट बालिकाको शिक्षासहित पालनपोषणमा सहयोग पुर्याउने उनले वताए । यसैबीच अभियानकी संयोजक रिजालसहितको टोलीले दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी बालिका खजुमको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिएको छ ।

गत जेठ ६ गते राति मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या भएको थियो । उक्त घटनामा भागेर ज्यान जोगाएकी बालिकालाई घटनाको भोलिपल्ट उपचारका लागि दमक ल्याइएको थियो । प्रहरीको निगरानीमा उपचार गराइरहेकी बालिकाको प्रदेश सरकारले सबै उपचार खर्च व्यहोर्ने बताइएको छ । यसैबीच दमकका सामाजिक व्यक्तित्व घनेन्द्रराज योङयाले बालिकाको पालनपोषण गर्न चाहेको बताए । परिवारले दिए बालिकालाई छोरीका रुपमा आफूले जिम्मा लिन तयार रहेको योङयाले बताउनुभयो । सरस्वती विद्यालयमा रु दुई लाखको अक्षयकोष झापाको दमक–२ स्थित सरस्वती आधारभूत विद्यालयमा स्थानीय दुई जना दाता परिवारहरुले आफ्ना दिवङ्गत परिवारको स्मृतिमा रु दुई लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेका छन् ।

स्थानीय कमलपति खनालले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा रु एक लाख १२ हजार ५०० को धनपति–नर्बदा स्मृति अक्षयकोष र खगेन्द्र तथा निर्मला अधिकारीले पनि आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । सो अक्षयकोषवाट प्राप्त ब्याजले गरीब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक चन्द्र भट्टराईले जानकारी दिए । सोही अवसरमा स्थानीय नेत्र दाहालले आफ्नो जन्मदिनको अवसर पारेर ३० जना विद्यार्थीलाई ब्यागसमेत प्रदान गर्नाका साथै कक्षा ३ मा अध्ययनरत विपन्न परिवारकी छात्रा कञ्चन न्यौपानेको अभिभावकत्वसमेत ग्रहण गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको