अर्थ संसार, काठमाडौं- झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा २० जना नयाँ कर्मचारी नियुक्तिका लागि एक हजार ६०० भन्दा बढीले आवेदन भरेर प्रतिस्पर्धा गरिरहेका छन् । मुलुकमा शिक्षित बेरोजगारीको अवस्था र सहकारीको जागिरप्रतिको आकर्षणलाई उक्त सङ्ख्याले देखाएको छ । आज कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगकै परीक्षाको झल्को दिने गरी लिखित परीक्षा भइरहेको छ ।
एनएमसीले सहायक अधिकृतस्तरका पाँच, वरिष्ठ सहायकस्तरका आठ र कार्यालय सहायकस्तरका सातजना कर्मचारीका लागि खुला आवेदन मागेको थियो । जसमा एक हजार ६०६ जनाले आवेदन भरेको र उनीहरु सबैलाई लिखित तथा मौखिक परीक्षामा सामेल गरेर २० जना छनोट गरिने संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले बताए  । आजै मेचीनगर– १४ स्थित शहीद दशरथ मावि र त्रिदेव बहुमुखी क्याम्पसको २० वटा कोठामा ४० जना निरीक्षण खटाएर दुई चरणमा लिखित परीक्षा भइरहेको छ ।
एनएमसीको जागिरप्रतिको आकर्षण र निष्पक्ष परीक्षाप्रतिको विश्वासका कारण आवेदकको सङ्ख्या धेरै भएको संस्थाका उपाध्यक्ष उप्रेतीको भनाइ छ । परीक्षा सञ्चालनका लागि संस्थाले एनएमसी सेवा आयोग गठन गरेको छ भने आजको परीक्षामा दर्जनौँं सुरक्षा गार्ड र नेपाल प्रहरीसमेत परिचालन गरिएको छ । बचत तथा ऋण कारोवार गर्ने एनएमसीले एउटा डेरी उद्योग, एकीकृत कृषि परियोजना र उपभोक्ता भण्डारसमेत सञ्चालन गर्दै आएको छ ।
विसं २०५० मा स्थापित झापाको अग्रणी सहकारीका रुपमा चिनिएको यो संस्थामा हाल ६०० भन्दा बढी कर्मचारी, ३५ वटा सेवा केन्द्र, ७३५ करोड रुपैयाँको वार्षिक कारोवार, ६५ हजार भन्दा बढी सदस्य, ५६५ करोड रुपैयाँ निक्षेप र ६७ करोड रुपैयाँ शेयर पूँजी रहेको छ । रासस 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस