Like us!
Follow us!
Connect us!
Watch us!

पल्सर स्पोर्टस अवार्डः कसले जित्ला ?

अर्थ संसार

आइतबार, १९ जेठ २०७६, १८ : ५० मा प्रकाशित

पल्सर स्पोर्टस अवार्डः  कसले जित्ला ?


अर्थ संसार, काठमाडौं–  नेपाल खेलकूद पत्रकार मञ्चद्वारा यस वर्ष प्रदान गरिने ‘पल्सर स्पोर्टस अवार्ड’अन्तर्गत ‘पिपल्स च्वाइस’का लागि पाँच खेलाडी मनोनयनमा परेका छन् ।
    
मनोनयनमा पर्ने खेलाडीमा सन्दीप लामिछाने (क्रिकेट), प्रिन्स दाहाल (ब्याडमिण्टन), सावित्रा भण्डारी (फुटबल), रेश्मा भण्डारी (भलिबल) र महेश्वर महर्जन (शारीरिक सुगठन) रहेका छन् । नेपालले खेलेका सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय योगदान पुर्याएकाले क्रिकेटका सन्दीप मनोनयनमा परेका हुन् । सन्दीपले नपालले जितेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्ड्सविरुद्व प्रभावशाली प्रदर्शन गरेका थिए । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

यस्तै ब्याडमिण्टनका प्रिन्स युनाइटेड अरब इमिरेट्समा सम्पन्न दुबई इन्टरनेशनल सिरिजमा यू–१५ उमेर समूहमा स्वर्ण पदक जितेका थिए । उमेर समूहमा ब्याडमिण्टनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक दिलाउने उनी पहिलो खेलाडी हुन् ।

फुटलबकी सावित्रा घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी छन् । भारतमा सम्पन्न अन्तर्राष्ट्रिय हिरो गोल्ड कपमा उनले नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएकी थिइन् । महिला साफ च्याम्पियनशिपमा उनी  सर्वाधिक गोलकर्ता बनेकी थिइन् । भलिबलकी रेश्मा राष्ट्रियस्तरका विभिन्न भलिबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेबापत छनोटमा परेकी हुन् ।
 
यस्तै शारीरिक सुगठनका महेश्वरले २०७५ सालमा शारीरिक सुगठनमा नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाएका थिए । उनले थाइल्याण्डको चियाङमाईमा सम्पन्न १०औँ विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनशिपमा पुरुष ७५ किलो तौल समूहतर्फ नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

मनोनयनमा परेकामध्ये एक जनालाई एसएमएस भोटिङ, फेसबुक लाइक, नेपाल खेलकूद पत्रकार मञ्चका सदस्यहरुको मत र राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकहरुको मतलाई आधार मानेर छनोट गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभयो । एसएमएस भोटिङको मतभार ५० प्रतिशत, फेसबुक लाइकको २५ तथा खेलकूद पत्रकार मञ्चका सदस्य र विभिन्न खेल सङ्घका मुख्य प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ । आगामी असार १७ गते मञ्चले योसँगै विभिन्न १० विधामा अवार्ड प्रदान गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको