जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई थप हिरासतमा राखेर अनुसन्धान गर्न दिने म्याद बढाउन अस्वीकार गरेको छ। अदालतको यस आदेशपछि केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई हिरासतबाट मुक्त गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ।
न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी गरिएको पक्राउ अनुमतिको म्याद नबढाउने निर्णय गरेको हो।
आदेशमा भनिएको छ, ‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद गर्न मिलेन ।’
यसअघि सोमबार मात्रै सर्वोच्च अदालतले धरौटी वा जमानतको व्यवस्था हुँदाहुँदै किन थुनामा राखेर अनुसन्धान अघि बढाइएको हो भन्दै धितोपत्रसम्बन्धी कसुरको अनुसन्धानमाथि प्रश्न उठाएको थियो। त्यतिबेला अदालतले बीमासम्बन्धी कसुरबारे रिट निवेदनमा मागदाबी नभएको उल्लेख गर्दै त्यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको थियो। सर्वोच्चको आदेश आएलगत्तै सीआईबीले गोल्छालाई धितोपत्र कसुरको सट्टा बीमासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको भन्दै रिहा गर्न नमानेको थियो। तर बीमासम्बन्धी कसुरमा म्याद थपका लागि अदालतमा पेश गर्दा जिल्ला अदालतले म्याद थप्न अस्वीकार गरेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस