पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले आह्वान गरेको आवेदन दिने म्याद आज सोमबार अन्तिम दिन रहेको हो ।
अन्तिम दिनको आवेदन दिने समय बाँकी रहेको अवस्थामा हालसम्म १५ जनाले आवेदन दिएका छन् । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको थियो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्षा भुवनकुमार दाहाल छन् ।
अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा रहेको समितिको सचिवालयमा इच्छुक उम्मेदवारहरूले आफ्नो विवरण बुझाउने क्रम जारी रहेको उल्लेख छ । धितोपत्रसम्बन्धी ऐनको व्यवस्थाअनुसार अध्यक्ष बन्न चाहने व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै पुँजी बजार, धितोपत्र व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस