Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारले लियो यु टर्न, तीब्र उचारचढाव बीच नेप्से १६ अंकले उकालो

मंगलबार, १८ माघ २०७३, १६ : ०६ मा प्रकाशित

सेयर बजारले लियो यु टर्न, तीब्र उचारचढाव बीच नेप्से १६ अंकले उकालो

अर्थ संसार
काठमाडौं–गत सातादेखि निरंतर ओरालो लागेको सेयर बजारले मंगलबार यु टर्न लिएको छ । खुलेपछि तीब्र उतारचढाव पूर्ण भएको बजार ३ बजे १७ अंकले बढेर बन्द भएको छ ।

विहान १३०९ अंकबाट खुलेको बजार आधा घन्टामै घटेर १२९५ अंकमा आएको थियो । त्यसपछि लगातार बढेको बजार १२ बजेसम्म झण्डै ४० अंकले बढेको थियो । त्यसको आधा घन्टा नवित्दै निरंतर ओरालो लागेको बजार दिउँसो १ बजेसम्म पहिले घटेको भन्दा तल १२९३ मा आइपुग्यो । विस्तारै उकालो लागेको बजार अन्ततः १३०६.६० अंकमा बन्द भएको छ ।

यस दिन बीमा र अन्य समुहबाहेक सबै उपसूचक हरिया भएका छन् । बीमा समुह भने निरंतर घटेको छ । बीमा ऐन संसोधनमा पूँजी बृद्धि योजना नराखिने र नगदमा लाभांश बाँड्न सकिने ब्यवस्था हुन लागेको भन्दै लगानीकर्ताहरु बीमा कम्पनीको सेयर विक्रीको चाप बढाएपछि यस समुहको सेयर मूल्य निरंतर घटेको हो ।

यस दिन सबैभन्दा बढी होटल समुहको सूचक १०९ अंकले बढेको छ । त्यसपछि बैंक२५.४४, विकास बैंक ३.३२, जलविद्युत १३.१५, वित्त ९.२ र उत्पादन समुह१९.८२ अंकले घटेका छन् ।

बजारमा मंगलबार गरिमा विकास बैंकको संस्थापक सेयरको उच्च कारोबार भएको छ । उक्त बैंकको ३ करोड ६८ लाख ३२ हजार ६ सय रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको हो । यसपछि नेपाल टेलिकम, सिद्धार्थ बैंक, प्रभु बैंक, नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ । ती सबै कम्पनी हरेकको २ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन झण्डै १० प्रतिशतले कमाउनेमा सोल्टी होटल भएको छ । यस होटलका लगानीकर्ताले सोमबार यतिकै रकम गुमाएका थिए । त्यसपछि श्रीराम सुगर मिल्स, कालिका माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्सलगायतका कम्पनीको लगानीकर्ताले उच्च कमाइ गरेका छन् । बढेको बजारमा समेत गुरांस लाइफ, एनमबि बैंकका संस्थापक, फस्र्ट माइक्रोफाइनान्सलगायतका लगानीकर्ताले उच्च दरमा गुमाएका छन् ।

बजारमा मंगलबार अघिल्लै दिनको हाराहारीमा सेयर किनबेच भएको छ । यस दिन १ सय ३७ कम्पनीको ४ हजार ३ सय ९५ कारोबारबाट १६ लाख ४९ हजार ७ सय ९८ कित्ता सेयर किनबेच भएको छ ।

निरंतर बजार ओरालो लागेपछि लगानीकर्ता निकै आत्तिएका थिए । मंगलबारको बजारले उनीहरुलाई केही राहत दिएको छ । लगानीकर्ता संघले बजारमा चलखेल भएको भन्दै मंगलबारै लगानीकर्तालाई सचेत गराएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको