Like us!
Follow us!
Connect us!
Watch us!

१५ दिनका लागि जोमसोम विमानस्थल बन्द

कमला भुसाल

शुक्रबार, २४ जेठ २०७६, १२ : ११ मा प्रकाशित

१५ दिनका लागि जोमसोम विमानस्थल बन्द

अर्थ संसार, काठमाडौं- मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । “असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ”, कार्यालयप्रमुख भानु कोइरालाले भने, “त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ ।” जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको उनको भनाइ छ ।

विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने (ग्रेड सुधार), कालोपत्र थपलगायत मर्मतको काम भइरहेको छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको कालोपत्रको म्याद गुज्रन लागेको थियो । विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ । गत असोजमा रु नौ करोडमा सम्झौता भई माघदेखि निर्माण कम्पनीले काम शुरु भएको थियो । हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएको थियो । असारभित्र सबै काम सकिने कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताए ।

धावनमार्ग सुधारसँगै विमानस्थलमा कालीगण्डकी नदीको कटान नियन्त्रण र घेराबारको काम पनि भइरहेको छ । पोखरा–जोमसोम हवाई मार्गमा तारा, यती, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन् । मुस्ताङ घुम्ने पर्यटकको चापले वैशाख–जेठमा विमानस्थल बढी व्यस्त हुन्छ । पोखरादेखि १७ मिनेटको उडानमा जोमसोम पुगिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको