अर्थ संसार, काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होउ यान्छीबीच सिंहदरबारमा भेटवार्ता भएको छ। ऊर्जा मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो।
भेटमा मन्त्री पुनले सरकारले ऊर्जा क्षेत्रको विकास र बजार विस्तारको लागि पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि पहल गरिदिन आग्रह गरे। उनले सरकारले जलविद्युतको लागि भारत र बंगलादेशमा बजारको लागि पहल जारी राखेको जानकारी समेत दिए। ‘नेपालमा जलविद्युत क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र बजार विस्तारका लागि हामी पहल गरिरहेका छौं, भारत र बंगलादेशसँग समेत यसबारे छलफल भइरहेको छ। यसमा चिनियाँ लगानीकर्ताको सकारात्मक सहयोग आवश्यक छ’, मन्त्री पुनले भने ।
चिनियाँ लगानीकर्ता र निर्माण कम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिको कारणबारे पनि जिज्ञासा राखेका थिए। जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनीले भोगेका समस्याहरुबारे जानकारी दिँदै त्यसबारेमा आफुले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताए।
मन्त्री पुनले राजदूतसँगको भेटमा भने, ‘चीन र अन्य विश्वमा राम्रो काम गरिरहेका छन् । यहाँ किन गर्न सकिरहेका छैनन्। समस्या के हो जसका कारण काममा ढिलाइ भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौं, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौँ।’ उनले चिनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशूली ३ ए जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिँदै आयोजना सम्पन्न गर्नको लागि समन्वय गरिदिन आग्रह गरे। मन्त्री पुनले दूधकोशी जलविद्युत आयोजनामा हाल विश्व बैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै उक्त आयोजना सम्पन्न गर्नको लागि थप दुई खर्ब अपुग भएकोले चिनियाँ सहयोगको लागि पहल गरिदिन आग्रह गरे।
भेटमा चिनियाँ राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्नको लागि चीनले पहल गरिरहेको जानकारी दिइन्। उनले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियाँ कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारी समेत दिइन्। राजदूत यान्छीले भनिन्, ‘चीन नेपालको साँच्चै मित्र हो, नेपालले विकास गरेको चीन हेर्न चाहन्छ । त्यसैले नेपालमा चीनले निर्माण गरिरहेका जलविद्युत आयोजना समयमै सम्पन्न गर्नको लागि पहल गरिरहेको छ।’ चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा भिसा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण, लगायतका समस्या भोगिरहेको चिनियाँ राजदूतको भनाई थियो ।
भेटमा राजदूत यान्छीले नेपालमा हाल स्थिर सरकार रहेको र अरु चार वर्ष सरकारसँग समय रहेको भन्दै यो अवधिमा नेपालले बढीभन्दा बढी उपलव्धी हासिल गर्छ भन्नेमा आफू आशावादी रहेको धारणा राखिन्। मन्त्री पुन र राजदूत यान्छीबीचको भेटमा जलविद्युत क्षेत्रको लगानी र दुवै मुलुकको बीचमा गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस