Like us!
Follow us!
Connect us!
Watch us!

जराबुट्टाबाट सुन्दर कलाकृति

शनिबार, २९ माघ २०७३, १३ : १० मा प्रकाशित

जराबुट्टाबाट सुन्दर कलाकृति

अर्थ संसार 
काठमाडौं– एउटा रुखको जरा के उपयोगमा आउला ? त्यसबाट केके बन्न सक्ला ? धेरैका लागि त्यो बाल्ने दाउरा होला । कतिपयले त्यसलाई खेतबारीमा घेराबेरा गर्न प्रयोग गर्लान् । त्यसभन्दा पर धेरैको प्रयोगमा आउँदैन । सिन्धुलीका विश्वम्भर लामिछानेको हातमा त्यो जर्बुटो परोस् त । त्यसले एउटा सुन्दर कलाको स्वरुप पाउँछ ।

नपत्याए एक पटक कमलामाई–५ मा रहेको उनको घर पुग्नुस्, जुन उनको कलाको संग्रहालय पनि हो । त्यहाँ अहिले उनको कला हेर्नेहरुको भिड लाग्छ । सदरमुकामबाट करिव ५ किलोमिटर पर रहेको उनको घर बजारको भिडभाड भन्दा पर छ । तैपनि उनको कला हेर्न धाएरै पुग्ने धेरै छन् । 

उनको सामान्य काठले बनेको, टायलले छाएको घरपरिसर आफैं कलात्मक छ । प्रांगणमा दुवोको कार्पेट विछ्याएजस्तै छ । त्यसका बरपर जर्बुटाका आकृतिहरु उभिएका छन् । उनले भूइँ तलाको एउटा कोठा आफ्ना कलाकृतिको संग्रहका लागि छुट्याएका छन् । 

धेरै कार्यक्रम अचेल उनकै घरमा हुन थालेका छन् । त्यहाँ कार्यक्रम आयोजना गर्दा सहभागितले उनको कलाकृतिको अबलोकन गर्न पाउँछन् । गएको भानु जयन्ती उनकै संग्रहालय प्रांगणमा मनाइयो । उनले जर्बुट्टाबाटै बनाएको रामायण हातमा बोकेको भानुभक्तको शालिकमा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती, प्राज्ञ मातृका पोखरेल, साहित्यकार राजेन्द्र बिमललगायतका साहित्यानुरागीले माल्यार्पण गरे । 

विश्वम्भरलाई धेरैले कलाकारभन्दा अकै ब्यक्तिका रुपमा चिन्छन् । उनी कालोकोट लगाएर अदालतमा बहस गरिरहेका भेटिन्छन् । त्यसैले उनी सिन्धुलीका बासिन्दाको वकिल हुन् । रेडक्रसको सभापतिसमेत भएर उनले लामो समय काम गरे । समाजसेवीका रुपमा उनको त्यहाँ लोकप्रिय छवि छ । त्यसो त उनी राजनीतिमा पनि उत्तिकै सक्रिय हुन् । उनी तत्कालीन नेकपा माक्सवादीको केन्द्रीय नेतृत्वमा समेत रहिसकेका छन् ।

पछिल्लो समय भने उनको परिचय फेरिएको छ । उनी निरंतर आफ्नो कला साधनामा छन् । उनी बगरमा खोलाले बगाएर ल्याएका जर्बुट्टा खोजिरहेका भेटिन्छन् । जंगलमा ढलेका रुखको जरा खोतलीरहेका हुन्छन् । 

त्यसरी जम्मा गरेका जर्बुट्टामा उनले ज्यान भर्न थालेको धेरै बर्ष वितिसकेको छ । उनी कला हेर्न आउने हरेक ब्यक्तिलाई आफ्नो कलाको रचनागर्भबारे बताउँछन्, उनले त्यो जर्बुटो कहाँ भेटे, त्यसमा उनले कस्तो कला लुकेको देखे र त्यसलाई कसरी आकार दिए आदि आदि । उनी मलामी गएर फर्कँदा पनि जर्बुटो बोकेर आउँछन् । 

कलाकार लामिछानेले बनाउने कला अरुभन्दा फरक छ । उनी चाहेर पनि एउटै कलाका धेरै कलाकृति बनाउन सक्दैनन् । उनी कुन जर्बुट्टोमा के को आकृति भेट्छन्, अर्कोमा अर्कै । ‘यस्तो कृति बनाउँछु भनेर यसमा सकिँदैन, उनी भन्छन्, जस्तो जर्बुट्टो भेटिएको छ, त्यसलाई आफ्नो सीपले निखार दिएर कलाको स्वरुपमा ल्याउने हो ।

त्यसको स्वरुपै परिवर्तन गरेर अर्को आकार दिन सकिँदैन ।’ जंगल तथा खोला किनारमा पाइने जराहरुबीचमा कलात्मक आकृतिको पहिचान गरी आफ्नो विचार, भाव र बिम्वको समायोजन गरेर त्यसलाई कलाकृतिको रुप दिने उनको क्षमता अद्भुत छ ।

उनले माओवादी द्वन्द्वमा सर्बसाधारणले भोगेको पीडा जर्बुट्टामा उतारेका छन् । भारतले नेपालमाथि देखाएको गिद्धे नगर उनको कलामा पोखिएको छ । उनको अर्को कलालाई उनकै शब्दमा सुनौं । ‘यो एउटा सामान्य जरो थियो, यसको स्वरुपलाई नियालेर आकृति दिएँ । अहिले यसले फरक स्वरुप लिएको छ । यसमा महिलाले डोको बोकेकी छन् । महिला गर्भवती छिन् ।

उनले डोकोमा आफ्नो सन्तानको लागि खाद्यान्न बोकेको हुनुपर्छ । उनले परिवारको छाक टार्न कसैको भारी बोकेको पनि हुनसक्छ । उनले डोकोको माथि अर्को एउटा डेढ–दुई वर्षको अर्को बच्चा पनि कोकेकी छन् । यसले एउटा महिलालाई पुरुषको तुलनामा धेरै बोझ छ भन्ने देखाउँछ । 

उनले जर्बुट्टालाई कलाको स्वरुप दिन थालेको २२ वर्ष वितेको छ । यस अबधिमा उनले २ सय ५० भन्दा वढी किसिमका कला बनाइसकेका छन् । हरेक कलाले फरक अर्थ दिन्छन् । उनी हरेक जर्बुट्टालाई फरक दृष्टिले हेर्ने गरेको बताउँछन् ।

‘मभित्र त्यो जरालाई पढन सक्ने तेस्रो आखाँको शक्तिछ, उनी भन्छन्, त्यसैले मैले यसलाई कलासँग जोड्न सकेको छु । संसार प्रसिद्ध मोनालिसाको चित्र लाखांै प्रति वनाउन सकिन्छ ।  यस्तो कलाकृति चाहेर पनि यस्तै खालको अरु वनाउन सकिँदैन । 

कलाको यो विधा अरु भन्दा विल्कुलै नयाँ हो । त्यसैले उनले आफैंले यसको सिर्जना गर्न थालेका हुन् । उनले यस्तो कला सिर्जनागर्न कसैलाई गुरु थापेका हैनन् । लगन, परिश्रम र धैर्यताले उनलाई यस्तो कलामा स्थापित गराएको हो । 

उनको कला अमूल्य छ । त्यसैले यसलाई उनी पैसामा साट्न चाहँदैनन् । ‘मेरो कला वेच्नु मेरा निम्ति मृत्युपत्रमा हस्ताक्षर गरे बराबर हो,’उनी भन्छन् । उनी यसको संरक्षण गर्ने भरपर्दो निकाय आए सित्तैमा हस्तान्तरण गर्न तयार छन् । उनको सर्त छ, ‘त्यस्तो निकायले मेरो कला युगौंसम्म संरक्षण गर्छ भन्ने कुरामा मलाई विश्वास दिलाउन सक्नु पर्छ । 

सिन्धुलीको जर्बुट्टा कला संग्रहालय अहिले सिन्धुली पुग्ने हरेक ब्यक्तिका लागि अनिवार्य गन्तब्य बनेको छ । नेपालका बरिष्ठ ब्यक्तित्वहरु, कलाकार, राजनेता, समाजका लब्धप्रतिष्ठित ब्यक्तिहरुले उनको संग्रहालयको भ्रमण गरिसकेका छन् । मुलुकबाहिर ३० भन्दा बढी मुलुकका नागरिकले आफ्नो संग्रहालय हेरेर हौसला प्रदान गरेको उनी फेहरिस्त सुनाउँछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको