Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी जलविद्युत् आयोजना: आयोजना प्रमुख भन्छन ७१ % काम सकियो

मिलन खड्का

आइतबार, १५ मंसिर २०७६, १२ : ४८ मा प्रकाशित

रसुवागढी जलविद्युत् आयोजना: आयोजना प्रमुख भन्छन ७१ % काम सकियो

ज्ञानेन्द्र न्यौपाने

अर्थ संसार,रसुवा-सन् २०२० को फेब्रुअरीभित्र १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा  ३० भन्दा बढी प्राविधिक अह्रोरात्र काममा खटिरहेका छन् । आयोजनाका आयोजना प्रमुख छवि गैरेका अनुसार हालसम्म निर्माणको समग्र प्रगति ७१ प्रतिशत पूरा भएको छ । रसुवागढीमुनि बाँध बाँध्ने, पोखरीमा बालुवा थिग्ग्रयाउने (डिसेन्ड्री) र विद्युत्गृह निर्माणको काम धमाधम अगाडि बढेकोे हो । चार हजार १८५ मिटरको हेडरेस सुरूङ भने गत वर्ष निर्माण सम्पन्न भइसकेको थियो ।

चार वर्षको अवधिमा निर्माणकार्य सम्पन्न गरी राष्ट्रिय प्रसारणमा विद्युत् पठाउने लक्ष्यका साथ सन् २०१४ बाट निर्माण कार्य अगाडि बढेको सो आयोजनाका लागि चाहिने सामान ढुवानी गर्न राजमार्गहरूमा हुने पहिरा र भूकम्पको असरजस्ता कारणले निर्माणमा ढिलाइ हुँदै आएको थियो ।

निर्माण लागत रू १३ अर्ब ६१ करोड ४० लाख रहेको आयोजनाको सुरूङभित्र पानी पठाउन बाहिरी सतहको भोटेकोशीमा एउटा बाँध रहने र विद्युुत्गृह, बालुवा थिग्ग्रयाउने पोखरीसमेतका भूमिगत संरचना रहनेछ । सो आयोजनाबाट वार्षिक रू ६१ करोड ४० लाख युनिट विद्युत् उत्पादन हुने प्राविधिकहरूले बताएका छन् ।

टिमुरेको तातोपानी नजिक थुमन क्षेत्रको आधार इलाकामा रहने सो गृहमा तीन फ्रान्सिस नामको टरवाइन जडान गर्ने कामसमेत तीव्ररूपमा अगाडि बढेको छ । बाँध बाँधिएको स्थल भोटेकोशीदेखि प्रतिसेकेण्ड ८० घनमिटर विद्युत्गृहमा पुग्ने बताइएको छ ।

आयोजनाको निर्णाणस्थल कडाखाले पहाडभित्र रहेका कारण भोटेकोशीमा आउन सक्ने बाढी, भूक्षय, भूकम्प तथा चट्याङजस्तो कुनै पनि प्राकृतिक प्रकोपले असर नपार्ने प्राविधिकहरूले बताएका छन् ।

साञ्जेन जलविद्युत् आयोजनाअन्तर्गत दुई चरणमा निर्माण भइरहेको विद्युत् संरचनामध्ये १४ दशमलव ८ मेगावाटको माथिल्लो जलविद्युत् आयोजनाको समग्र निर्माणकार्य ८५ पूरा भई विद्युत्गृहको निर्माणकार्य भइरहेको छ ।

एक हजार ३०० मिटर सुरूङमार्गको सहायताले सिम्बुगाउँमा पानी ल्याई चालू आर्थिक वर्षभित्र विद्युत् उत्पादन गरिसक्ने साञ्जेन जलविद्युत् आयोजनाका प्रमुख सुदनसिंह महतले जानकारी दिनुभयो । कूल ४२ दशमलव ५ मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माणकार्य पनि धमाधम अघि बढेको छ ।

तीन हजार ६७१ मिटर हेड्रेरेस सुरूङमध्ये तीन हजार ३९२ मिटर निर्माण सम्पन्न भई ७३ प्रतिशत काम पूरा भएको साञ्जेन आयोजनाका आयोजना प्रमुख अर्पणबहादुर सिंहले बताउनुभयो । निर्माणाधीन ४२.५ मेगावाट तल्लो साञ्जेन आयोजनाले अबको डेड वर्षभित्र उत्पादन दिइसक्ने अपेक्षा गरिएको छ ।

एउटै खोलाको पानीबाट सञ्चालन हुने यी दुवै आयोजनाका संरचना अर्धभूमिगतरूपको हुने बताइएको छ । निर्माणको किसिम भने पानी ल्याउने हेडरेस भूमिगत सुरूङ एवं विद्युत्गृह बाहिरी सतहमा हुने आयोजनाका सहप्रबन्धक गुरूदास अमात्यले बताउनुभयो ।

गोसाइँकुण्ड गाउँपालिका–५ मा निर्माण हुने २० मेगावाट लाङटाङखोला एवं थुमन तथा बृद्विम क्षेत्रको आधार इलाकामा निर्माण हुने १२० मेगावाट भोटेकोशी जलविद्युत् आयोजना निर्माणका लागि प्रवेशमार्ग निर्माण भइरहेको छ ।

आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकामा निर्माण हुने माथिल्लो त्रिशुली वान नामक २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको भने सबै प्रक्रिया पूरा भई अब स्थलगतरुपले निर्माणको चरणमा अगाडि बढेको आयोजनाका निर्देशक गिरीराज अधिकारीले जानकारी दिनुभयो ।

रसुवा र नुवाकोट दुई जिल्लाको आधार इलाकामा नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माण भएको ६० मेगावाट क्षमताको माथिल्लोे त्रिशूली थ्री–ए आयोजनाको निर्माणकार्य सम्पन्न भई उत्पादन र खपत शुरु भइसकेको छ । विसं २०६० भदौ ८ गतेबाट उत्पादत शुरु भएको २२ मेगावाट क्षमताको चिलिमे र २०७१ मा निर्माण भएको पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् केन्द्रले लक्ष्यअनुसार उत्पादन दिइरहेको जनाइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको