Like us!
Follow us!
Connect us!
Watch us!

सेयर धितो कर्जामा राष्ट्र बैंकको लचकता - बलिया कम्पनीमा ८० प्रतिशत ऋण पाइने, यस्ता छन् सर्तहरू

अर्थ संसार

विहीबार, ३२ असार २०८३, १५ : ०६ मा प्रकाशित

सेयर धितो कर्जामा राष्ट्र बैंकको लचकता - बलिया कम्पनीमा ८० प्रतिशत ऋण पाइने, यस्ता छन् सर्तहरू

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको घोषणालाई कार्यान्वयन गर्दै सेयर धितो कर्जामा नयाँ व्यवस्था लागू गरेको छ।

अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका बलिया र वित्तीय रूपमा सबल कम्पनीहरूको सेयर धितो राखेर ८० प्रतिशतसम्म कर्जा लिन पाइने भएको छ। हालसम्म सबै प्रकारका कम्पनीका सेयरमा बढीमा ७० प्रतिशतसम्म मात्र ऋण पाउने सीमा रहेकोमा सबल कम्पनीका लागि यसलाई १० प्रतिशतले बढाइएको हो।

यो सुविधा पाउनका लागि बैंक तथा वित्तीय संस्थाहरूले सम्बन्धित कम्पनीको सबलता विश्लेषण गरी एउटा निश्चित कार्यविधि तयार पार्नुपर्नेछ। उक्त कार्यविधि वित्तीय संस्थाहरूले आफ्नो वेबसाइटमा सार्वजनिक रूपमा राख्नुपर्ने अनिवार्य नियम बनाइएको छ। कम्पनीको सबलता मापन गर्दा संस्थाको चुक्ता पुँजी, सेयर सूचीकरण भएको अवधि, नाफा र लाभांश वितरणको इतिहास, क्रेडिट रेटिङ, नियामकीय व्यवस्थाको पालना तथा साधारण सभाको नियमितता जस्ता पक्षहरूलाई आधार मानिनेछ।

धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको यस्तो कर्जामा धितो मूल्याङ्कन गर्दा नेप्सेबाट प्रकाशित पछिल्लो १८० कार्यदिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था छ । तर, सूचीकृत संस्थाको सबलताको आधारमा कर्जा प्रवाहको लागि प्रडक्ट पेपर बनाउँदा मूल्याङ्कन गर्ने विधि अवलम्बन गर्नुपर्नेछ । सबलता मूल्याङ्कनको आधारमा उच्च मूल्याङ्कन हुने संस्थाको सेयरको कर्जा मूल्य अनुपात बढीमा १० प्रतिशत बिन्दुसम्म थप गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । 

यसका साथै, एकपटक कर्जा लिइसकेपछि धितोमा रहेको सेयरको पुनर्मूल्याङ्कन गरेर थप कर्जा सीमा तोक्न वा थप ऋण लिन भने नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको