Like us!
Follow us!
Connect us!
Watch us!

ढल्केवरबाट भारततर्फ १,६५० मेगावाट विद्युत निर्यात गर्न नेपाल–भारत सहमत

अर्थ संसार

बुधबार, ३१ असार २०८३, २१ : ०३ मा प्रकाशित

ढल्केवरबाट भारततर्फ १,६५० मेगावाट विद्युत निर्यात गर्न नेपाल–भारत सहमत

नेपाल र भारतबीच ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने विद्युत निर्यातको क्षमता उल्लेखनीय रूपमा बढाउने सहमति भएको छ। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (Joint Steering Committee–JSC) को बैठकले हाल १,१०० मेगावाट रहेको निर्यात क्षमता बढाएर १,६५० मेगावाट पुर्‍याउने निर्णय गरेको हो।

बैठकले संयुक्त प्राविधिक टोली (JTT) को अध्ययन प्रतिवेदनका आधारमा ढल्केवर–मुजफ्फरपुर र प्रस्तावित ढल्केवर–सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट हुने संयुक्त विद्युत प्रवाह (Combined Power Transfer) को क्षमता विस्तारमा सहमति जनाएको हो।

यस निर्णयसँगै विद्युत आयात क्षमता पनि १,००० मेगावाटबाट बढाएर १,४०० मेगावाट पुर्‍याइने भएको छ। नेपालमा उत्पादन बढ्दै गएको विद्युतलाई भारतीय बजारमा निर्यात गर्न यस निर्णयलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

चमेलिया–जौलजीवी प्रसारण लाइनको डीपीआर स्वीकृत

बैठकले नेपालको चमेलिया र भारतको जौलजीवी जोड्ने २२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (DPR) पनि स्वीकृत गरेको छ।

दुवै देशले उक्त प्रसारण लाइन डिसेम्बर २०२८ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरेका छन्। यस आयोजनाले सुदूरपश्चिम क्षेत्रको विद्युत आदान–प्रदानलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

इनरुवा–न्यु पूर्णिया र दोधोधरा–बरेली प्रसारण लाइनको काम तीव्र बनाइने

नेपाल र भारतबीच निर्माण हुन लागेका इनरुवा–न्यु पूर्णिया तथा दोधोधरा (न्यु लम्की)–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनका लागि नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशनबीच शेयरधनी सम्झौता (SHA) तथा संयुक्त उपक्रम (JV) सम्झौता सम्पन्न भइसकेको जानकारी बैठकमा दिइएको थियो।

बैठकले यी आयोजनाको निर्माण अघि बढाउन संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ।

सन् २०३४–३५ सम्म थप विद्युत निर्यातको तयारी

नेपालबाट आगामी दशकमा थप विद्युत निर्यात गर्ने लक्ष्यअनुसार नयाँ अन्तरदेशीय प्रसारण पूर्वाधार विकास गर्ने विषयमा पनि महत्वपूर्ण निर्णय भएको छ।

बैठकले भारतको मोतिहारी र नेपालको निजगढ जोड्ने ४०० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गरेको छ।

त्यस्तै, हाल सञ्चालनमा रहेको मुजफ्फरपुर–ढल्केवर ४०० केभी प्रसारण लाइनमा HTLS (High Temperature Low Sag) कन्डक्टर प्रयोग गरी क्षमता विस्तार (Reconductoring) गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।

यसैगरी, भारतको लखनउ र नेपालको कोहलपुर/लम्ही जोड्ने प्रस्तावित ४०० केभी प्रसारण लाइनबारे थप प्राविधिक अध्ययन गरेर अन्तिम निर्णय गर्ने सहमति भएको छ।

नयाँ बुटवल–गोरखपुर लाइन २२० केभीमा सञ्चालन हुने

बैठकले नयाँ बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको निर्माण अगस्ट २०२६ भित्र सम्पन्न हुने जानकारी लिएको छ। तर नयाँ बुटवल ४०० केभी सबस्टेशनको निर्माण डिसेम्बर २०२७ सम्म मात्र सम्पन्न हुने भएकाले सो अवधिसम्म उक्त लाइन २२० केभीमा सञ्चालन गर्ने प्राविधिक सहमति भएको छ।

यस व्यवस्थाअनुसार उक्त प्रसारण लाइनमार्फत १३० मेगावाटसम्म विद्युत आयात तथा २०० मेगावाटसम्म विद्युत निर्यात गर्न सकिने गरी निर्माण कार्य अघि बढाइनेछ।

नेपाल र भारतबीच पछिल्ला वर्षहरूमा ऊर्जा व्यापार निरन्तर विस्तार भइरहेको छ। नेपालमा वर्षेनी जलविद्युत उत्पादन बढ्दै गइरहेका बेला अन्तरदेशीय प्रसारण लाइनको क्षमता विस्तारलाई विद्युत निर्यात वृद्धि तथा ऊर्जा बजार विस्तारका लागि अत्यावश्यक पूर्वाधारका रूपमा हेरिएको छ।

ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५० मेगावाट पुर्‍याउने निर्णयले आगामी वर्षहरूमा नेपालबाट भारततर्फ थप विद्युत निर्यातको बाटो खुल्नेछ। यसले नेपालको ऊर्जा व्यापार, विदेशी मुद्रा आर्जन तथा जलविद्युत क्षेत्रमा लगानी आकर्षित गर्न समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको