जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा अभियोग लागेका व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार थुनछेक बहस टुंग्याउँदै दुवै अभियुक्तलाई धरौटीमा छाड्न आदेश दिएको हो। अदालतले बिमासम्बन्धी कसुरतर्फ सुलभ अग्रवालसँग २ करोड रुपैयाँ तथा दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।
त्यसैगरी धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग थप १ करोड ५० लाख रुपैयाँ र भट्टसँग १ करोड रुपैयाँ धरौटी बुझाउनुपर्ने आदेश जारी भएको छ।
यो मुद्दामा जिल्ला अदालत काठमाडौंमा करिब एक सातासम्म लगातार थुनछेक बहस चलेको थियो। सोही बहसपछि अदालतले धरौटी माग गर्दै रिहा गर्न मिल्ने आदेश सुनाएको हो।
यसैबीच, हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्रीसँग सम्बन्धित छुट्टै मुद्दामा पनि अदालतले सुलभ अग्रवालसँग २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ। उक्त रकम बुझाएपछि मात्रै उनी सो मुद्दामा पनि धरौटीमा रिहा हुन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस