अर्थ संसार, काठमाडाैं- कैलालीको टिकापुर नगरपालीकाले छाउगोठ भत्काउँदै छाउपडी प्रथाविरुद्ध अभियान चलाउने भएकाे छ। छाउपडीप्रथा नियन्त्रण र न्युनिकरण अभियान सञ्चालन गर्नका लागि नगरपालीकाले एक समिति गठन गरेको छ ।
नगरपालीकाले उक्त प्रथाविरुद्ध सम्बन्धी कार्ययोजना बनाउन आयोजना गरेको छलफलमा उपप्रमुख केशरी रावल विष्ट संयोजक रहेको समिति गठन गरेको थियो ।
कार्ययोजना बनाई कार्यन्वन गर्ने निर्णय समितिले गरेको छ । समितिको उपसंयोजकमा टीकापुरका प्रहरी, सबै वडाध्यक्ष, वुद्धिमानी महिला तथा सञ्चारकर्मी समाजिक विकास समितिका संयोजक दीर्घ ठकुल्ला लगायतका सदस्यहरू छन् ।
नगरप्रमुख तपेन्द्र रावलले भन्नुहुन्छ “छाउपडी प्रथा सामाजिकरुपमा कुप्रथा मात्र नभएर कानूनीरुपमा दण्डनीय अपराधसमेत हो त्यसैले नगरपालीकाले यसलाई कार्ययोजना बनाई नियन्त्रण गर्नु पर्छ ।” नगरप्रमुख विष्टले नगरवासिलाइ छाउपडी प्रथा अन्त्यका लागी साथ सहयोग गर्न अनुरोध गर्नुभयो ।
परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने वडा नं. १ का वडाअध्यक्ष गङ्गाराम आचार्यले बताएका छन भने वडा नं. २ का वडा अध्यक्ष प्रकाश बुढाले वडालेनै आफ्ना जनतालाई सम्झाइबुझाई छाउपडी गोठ भत्काउन लगाउने बताएका छन । छाउपडी जस्ता कुप्रथा हटाउन सबै दलहरुले सहयोग गर्नुपर्ने नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले बताएका छन् ।
महिनावारी भएका बेला घरमै बस्न मिल्छ भनेर जनतालाई चेतना जगाउन सक्नुपर्ने काँग्रेसका नगर सभापति धनराज उपाध्यायले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० टीकापुरका अध्यक्ष खड्क शाहले नगरपालिकाले छाउपडी प्रथाविरुद्ध गर्ने अभियानमा आफ्नो पार्टीले सहयोग गर्ने वताएका छन ।
कानूनले समेत दण्डनीय भनेर मानिसकेको छाउपडी प्रथाको नियन्त्रणमा नगरपालिकाले सबैको साथ चाहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले बताएका छन् । इलाका प्रहरी कार्यलय टिकापुरका प्रमुख हेमराज भट्टले कानूनले दण्डनीय अपराध मानिसकेको छाउपडी प्रथा हटाउन प्रहरीले सबै कानूनी प्रक्रिया अपनाउने बताएका छन ।
आफूहरु महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा नगरपालीकाका विभिन्न वडामा छाउपडी गोठ भेट्टाएको महिला अभियन्ता चन्द्रावती शर्माले बताएका छन । अहिले पनि नगरपालिकाका वडा नं २, ७, ८ र ९ मा छाउगोठ देख्न सकिन्छ । महिला महिनावारी हुँदाको समयमा यहाँ अहिले पनि चार दिन गोठमै बस्ने गर्दछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस