Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकममा चरम राजनीति : बढावा गर्दा कसैलाई काखा र कसैलाई पाखा नगर्न कांग्रेसको आग्रह

अर्थ संसार

शनिबार, २६ पुस २०७६, १८ : ३१ मा प्रकाशित

नेपाल टेलिकममा चरम राजनीति : बढावा गर्दा कसैलाई काखा र कसैलाई पाखा नगर्न कांग्रेसको आग्रह

अर्थ संसार, काठमाडौं-नेपाली काँग्रेसले टेलिकम कम्पनीका सम्बन्धमा मन्त्रिपरिषद्ले गरेको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेसले शनिबार एक विज्ञप्तिमार्फत निजी क्षेत्रलाई बढावा दिँदा प्रतिस्पर्धी कम्पनी कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने जनाएको हो ।

 पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति वर्तमान सरकारले पनि पछ्याएकामा त्यसमा कुनै विमति नरहेको उल्लेख गर्दै निजी क्षेत्रलाई बढावा दिँदा प्रतिस्पर्धी कम्पनी कसैलाई काखा र कसैलाई पाखा लगाउने नियतमा भने काँग्रेसको विमति रहेको जनाउनुभएको छ ।

सञ्चालक र व्यवस्थापनलाई सचेत बनाउने शेयरधनी डम्बरुलाई खामे भन्नेलाई सभाहलबाटै यस्तो चुनौति (भिडियोसहित) 

 निजी क्षेत्रलाई संवद्र्धन गर्दा सम्बन्धित कम्पनीले पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया, राज्यलाई बुझाउनुपर्ने नियमित राजश्व र सामाजिक उत्तरदायित्वप्रति सरकारले जवाफदेहिताका साथ नियमन गर्नुपर्ने काँग्रेसको भनाइ छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले त्यसमा गम्भीरता नराखी स्थापित विधिलाई उल्लङ्घन गरेको काँग्रेसको आरोप छ ।

 सरकारले केही कम्पनीको अनुमतिपत्रबारे निर्णय गर्दा नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय, निर्णयमाथिको मुद्दामा सर्वोच्चले जायज ठह¥याएको तथ्य र संसद्को अर्थ समितिले दिएको निर्देशन समेतलाई कार्यान्वयनमा लगेर राष्ट्रको ढुकुटीमा आउनुपर्ने वक्यौता रकम लिन गम्भीरता नदेखाएको भनी काँग्रेसले टिप्पणी गरेको छ ।

 त्यसले एकातर्फ समयभित्रै शुल्क लिने दायित्वबाट सरकार विमुख भएको र अर्कोतर्फ यसले अदालत, अर्थ समिति र प्राधिकरणसमेतका निर्णय, निर्देशन र प्रयत्नलाई अर्थहिन बनाइदिएको प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 नेपालमा इन्टरनेटको मूल्य दक्षिण एशियामै महँगो रहिआएकाले निजी क्षेत्रलाई प्रोत्साहित गरेर यसलाई सस्तो र सहज बनाउने दिशामा अघि बढ्नुपर्ने काँग्रेसको सुझाव छ । सरकारले सम्पूर्ण प्रक्रिया पूरा गरेको र कुनै वक्यौता नरहेको एक प्रतिष्ठित औद्योगिक घरानाप्रति गरेको व्यवहारलाई काँग्रेसले दुःखद्रुपमा लिएको जनाएको छ ।

 “सरकारले नै गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा सरकारकै उपस्थितिमा विदेशी साझेदारसँग सिजी कम्युनिकेशनले सम्झौता गरेको, सम्पूर्ण प्रक्रिया पूरा गरिएको र कुनै वक्यौता रकम नरहेको स्थितिमा प्राधिकरणमार्फत प्रक्रिया टुङ्ग्याएर अनुमति दिनुपर्ने विषय स्वयं सरकारकै प्राथमिकतामा नपर्नु कुनै निश्चित पूर्वाग्रह देखिन्छ । नियतबस गरिएको यस्तो भेद र निरुत्साहित गर्ने प्रयत्नप्रति काँग्रेस खेद प्रकट गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

 काँग्रेसले निश्चित मापदण्डको जगमा निजी क्षेत्रलाई समान व्यवहार गर्न, राजश्व सङ्कलनमा कुनै मोलाहिजा र उन्मुक्ति नदिन वस्तुगत मूल्याङ्कनका आधारमा कम्पनी सञ्चालनको अनुमति, प्रोत्साहन र राजश्व सङ्कलनमा कुनै सम्झौता नगर्न सरकारलाई सार्वजनिक अपिल गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको