अर्थ संसार, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण आज (आइतबार) सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक रहेका छन् ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब १ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । विन्दुगत आधारमा गत वर्षकाे भन्दा ३३ प्रतिशत (रू. ५० करोड) को वृद्धि भएकाे हाे । गत वर्षको सोही अवधीको खुद मुनाफा रू. १ अर्ब ५१ करोड रहेको थियो ।
त्यसैगरी, बैंकले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कर्जातर्फ रू. १५ अर्बले वृद्धि गरी रू. १६५ अर्ब र निक्षेप संकलनतर्फ रू. ६ अर्बले वृद्धि गरी रू. १८६ अर्ब पुर्याउन सफल भएको छ ।
यसैगरी, बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५% कर्जा लगानी पुर्ण रूपले पालना गरेको छ । विविधिकरणकै रणनीति अनुरूप बैंकको उच्चतम दस ग्राहकहरूको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ ।
यस्तै, निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरूप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ९.४% रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये एक हो । बैंकले चालु आ. व.को ६ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा ६ अर्बले बढेको छ । निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । यस बैंकका चल्ती तथा वचत निक्षेप (CASA) हाल बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ ।
यसैगरी, बैंकले वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि गरी रू. ४१.६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत पुर्याउन सफल भएको छ । प्रथम त्रैमासमा स्वपूँजी प्रतिफलमा यो बैंक बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट रहेको थियो ।
त्यस्तै, बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरू, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ । २१ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
यस्तै, “बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” मुलनारा सहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आ.व.मा करिब रू ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाईसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरूको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरू तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस