Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा संस्थान ५३औं वर्षमा प्रवेश

निशा हुमाँगाई

आइतबार, ११ फागुन २०७६, १६ : ३९ मा प्रकाशित

राष्ट्रिय बीमा संस्थान ५३औं वर्षमा प्रवेश

अर्थ संसार, काठमाडौं – पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५३औं वर्षमा प्रवेश गरेको छ ।

संस्थान ५३ औं वर्ष प्रवेश गरेको अवसरमा आइतबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जीवन बीमा क्षेत्रमा संस्थानले आफनो पहुँच बढाउन शाखा कार्यालयका साथै अभिकर्ताको संख्या, गुणस्तर र क्षमता पनि बढाउन सुझाव दिएका छन् ।

सरकारले सामाजिक सुरक्षाको दायरा फराकिलो पार्न बीमाको पहुँच विस्तार हुने गरी बीमा सेवा प्रदायक निकायहरूको संस्थागत र प्रणालीगत सुधार गर्ने, घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उनले बताएका छन् ।

यसैगरी, बीमा सेवा प्रदायक संस्थाको व्यापक विस्तारका कारण पछिल्ला वर्षहरूमा बीमा सेवाको उल्लेख्य विस्तार भएको भन्दै उनले भने – ‘यसको बाबजुद हालसम्म नेपालको कुल जनसंख्याको २२ प्रतिशत जनतामा मात्र बीमाको पहुँच पुगेको परिप्रेक्षमा संस्थानको भूमिका अझ प्रभावकारी हुँदै जानुपर्ने देख्दछु ।’

बीमाका जोखिमलाई विविधिकरण गर्न पुनबीमाको जोखिमलाई पनि विविधकरण गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् । बीमाको दायरा बढाउँदा साना, सीमान्तकृत र चरम गरिबीको रेखामुनी रहेकालाई पनि समेट्ने गरी लाग्न उनको आग्रह थियो ।

त्यसैगरी, संस्थानले संकलन गरेको बीमकको लगानीयोग्य रकमलाई सुरक्षित तथा प्रतिफलमुखी क्षेत्रमा लगानी प्रवाह गर्न सकिएमा यसले मुलुकको पूँजी बजार विकासतमार्फत आर्थिक विकासमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

सरकारी स्वामित्वको बीमा संस्थानले आधुनिक प्रविधिको प्रयोग र चुस्त व्यवस्थापनबाट सञ्चालित निजी क्षेत्रका बीमा कम्पनीहरूसँग आफुलाई थप कुशल र प्रतिष्पर्धी बनाउँदै जानुपर्ने चुनौति औंल्याउँदै उनले बताए – ‘अन्तराष्ट्रिय प्रचलन र अभ्यास अनुरूप बीमा सेवाको विकास, विस्तार र विकास गरी आकर्षक बीमा योजना, सेवाको विविधिकरण, आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यकुशलतामा वृद्दी, आर्थिक अनुशासन, व्यवसायिक कार्ययोजनाको अवलम्बन गर्नुहोस ।’

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले नेपालको बीमा बजारमा दक्ष जनशक्तिको उत्पादन र विकासमा संस्थानको योगदानको कदर गर्दै संस्थानले आफनो वित्तीय विवरणहरूको पारदर्शितामार्फत स्वस्थ व्यवसायिकताका माग पहिल्याउन सक्नुपर्ने बताएका छन् ।

यस्तै, आगामी दिनमा संंस्थानले बीमा सेवाग्राहीसँगको सुमधुर सम्बन्ध कायम गर्दै छिटो छरितो सेवा प्रदान गर्ने वातावरण तयार गरी बीमा क्षेत्रको प्रतिष्ठा जनमानसमा बृद्घि गराउने र आफनो जिम्मेवारीलाई आत्मसात गर्दै कार्यलाई मर्यादित तथा गुणात्मक तुल्याउने दिशामा अगाडि बढाउन उनको आग्रह थियो ।

संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कंडेलले नेपालको सबभन्दा पुरानो एक मात्र सरकारी बीमकको रूपमा संस्थानले  गौरबमय इतिहास बोकेको भन्दै एकै चौमाशिकमा तिन गुना बिमा प्रिमियम जम्मा गर्न सफल भएको बताए। प्रविधियुक्त सेवाको शुरूवात नयाँ सफ्टवेयर र बीमा एप्सको प्रयोगबाट शुरू गरिएको भन्दै उनले बताए – ‘यसलाइ आगामी बर्षमा तिब्र बिस्तार गरिने छ । केही बर्षयता देखि रोकिएको लेखा परिक्षण बीमा समितिबाट स्वीकृत गर्ने पक्रिया अघि बढाउने संकेत  देखिसकेको छ । आगामी वर्षको शुरूवातमै बिमांकीय मुल्यांकन स्विकृती प्राप्त हुना साथ बाँकी रहेका साधारण सभाहरू सम्पन्न गर्ने छौं ।’

बजारमा प्रचलित अरू केहि बिमा प्रडक्टहरू लन्च गर्ने र भएका केहि प्रोडक्टलाई अप्ग्रेड गर्दै जाने संस्थाको लक्ष्य रहेको जानकारी दिंदै उनले भने – ‘एकिकृत बिमा सफ्टवेयर जडान गर्ने, जनशक्तिको वृद्धि गर्ने, बाँकी रहेको आर्थिक वर्षहरूको लेखा परिक्षण यथाशिघ्र सम्पन्न गरी यसको सेवा बिस्तारलाई आक्रमक रूपमा अघि बढाइ संस्थानलाई आजको प्रतिस्पर्धि बीमा बजारमा अग्रणी स्थानमा प्रमुख हिस्सेदारको रूपमा स्थापित गर्नु नै हाम्रो प्रमुख लक्ष्य रहेको  छ ।’

साथै बिमाकोषलाई  परिचालन  गर्दा  लगानी विविधिकरणको आधारमा  राज्यले तोकेका महत्वपुर्ण योजना र निकायहरूमा उच्चतम प्रतिफल  र सुरक्षालाइ मध्यनजर गर्दै लगानी  बृद्दि गर्दै लैजाने नीति संस्थानले अंगिकार गरेको उनले बताएका छन् ।

संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानले अहिले मूलुकमा स्थापित कूल १९ वटा जीवन बीमा कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो पहिचानलाई मजबुत गराउँदै लगेको जानकारी दिंदै चालु आर्थिक वर्ष  को प्रथम अर्ध वार्षिकको अन्त्यसम्ममा जीवन बीमा प्रदायकहरूको जीवन बीमा कोषमा रहेको दुई खर्ब ६५ अर्ब ७१ करोड मध्ये संस्थानको कोषमा २५ अरब ९६ करोड रहेको बताएका छन् ।

सो अवधिमा संकलित बीमाशुल्क ४७ अर्ब छ करोड मध्ये संस्थानको ५ अरब ६९ करोड रहेको भन्दै उनले भने – ‘यसरी हेर्दा कूल बीमाकोष र बीमाशुल्क संकलनमा संस्थानको हिस्सा क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ । त्यस्तै गरी संस्थानमा कूल बीमालेख संख्या संख्या ६ लाख ८९ हजार रहेको छ ।’

विगतमा आठ वटा मात्र शाखा त्यो पनि निस्कृय अवस्थामा रहेकोमा हाल १४ वटा शाखा कार्यालय मार्फत व्यवसाय शुरू गरी सबै कार्यालयबाट बीमालेख जारी गर्ने व्यवस्था मिलाइएको उनले बताए । यसै आर्थिक वर्ष भित्रै थप १० वटा शाखा कार्यालयहरू स्थापना गरी २४ वटा पुर्याइने भन्दै प्रशासक पाठकले भन्नुभयो – ‘यस अवधिमा व्यवसाय विस्तारको अभिन्न अंग रहेको अभिकर्ताको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ ।

साथै आगामी दिनमा अभिकर्ताको संख्या बृद्धिको लागि निरन्तर तालिम कार्यक्रम सञ्चालन गरिनेछ । पूराना अभिकर्तालाई उत्प्रेरित गर्न पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ र यो कार्यलाई निरन्तरता दिइनेछ । साथै अभिकर्तालाई उत्प्रेरित गर्न विगतको अभिकर्ता इन्सेन्टिभ कार्याविधिलाई परिमार्जन गरी कार्यान्वयन गरिएको छ ।’

संस्थानमा चालु रहेको सफ्टवेयरलाई विस्थापित गरी यस आर्थिक बर्षबाट वेभ वेस्ड सफटवेयर सञ्चालनमा ल्याइएको जानकारी दिंदै उनले भने – ‘हाल नयाँ व्यवसाय मात्र नयाँ सफ्टवेयरबाट सञ्चालन भइरहेकोमा यही आर्थिक वर्ष  भित्र सबै पूरानो डाटा माइग्रेशन गरी नयाँ सफ्टवेयरबाट एकीकृत रूपमा कार्य सञ्चालन गरिनेछ । संस्थानको सेवालाई गुणस्तरीय, भरपर्दो र अझ सहज बनाउन मोबाइल एप्स तथा एसएमएस सेवाको शुरूवात गर्नुको साथै संस्थानको वेवसाइट थप व्यवस्थित गरिएको छ ।’

ग्राहकको माग बमोजिम पूरक करारको रूपमा दोहोरो दुर्घटना लाभलाई वृद्धि गरी ५० लाख पुर्याएको छ जानकारी दिंदै प्रशासक पाठकले भने – ‘घातक रोग  सुविधा स्वीकृतिको लागि बीमा समितिमा पठाइएको छ । त्यसै गरी नयाँ बीमा योजना सञ्चालनको लागि बीमाङ्कीकोमा पठाइएको छ ।’

कार्यक्रममा संस्थानमा आर्थिक वर्ष २०७५/७६ मा आर्जित बीमा शुल्कको आधारमा उत्कृष्ट १० जना अभिकर्तालाई पदक सहित प्रशंसापत्रद्धारा सम्मान गरिएको छ । सम्मानित हुने अभिकर्ताहरूमा मनकुमारी निरौला, सकुना अधिकारी शिवाकोटी, बद्रि प्रसाद उप्रेती, शान्ती महर्जन, बुद्धि प्रसाद गौतम, राजन रिमाल, बिरेन्द्र बहादुर शंकर, लिला बहादुर श्रेष्ठ, बुद्धि प्रसाद रेग्मी, सुभद्रा अधिकारी, कान्छा थापा क्षेत्री र टंक बहादुर राई हुनुहुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको