Like us!
Follow us!
Connect us!
Watch us!

पोर्चुगलमा बर्षेनी ७ कन्टेनर हस्तकलाका सामान बेच्छु

विहीबार, २० असोज २०७३, १२ : ५५ मा प्रकाशित

पोर्चुगलमा बर्षेनी ७ कन्टेनर हस्तकलाका सामान बेच्छु

सन् १९९६ देखि हस्तकला ब्यवसायमा लागेका हुन् शम्भु गौतम । काभ्रेको कटुन्जेबेसीमा जन्मेका उनी अध्ययनका क्रममा काठमाडौंको बसन्तपुर नजिक बस्थे । त्यहाँ उनी विदेशी पर्यटकले हस्तकलाका सामान खरिद गरेको देख्थे । बसन्तपुर दरवार परिसरमा क्युरियोका सामानको ब्यापार निकै हुन्थ्यो । उनले विस्तारै ठमेलमा हस्तकलाका सामानको पसल खोले । त्यसपछि उनी हस्तकलाका सामान बेच्न विदेश जान थाले । पछिल्लो समय उनी पोर्चुगलमा बसेर प्योर क्राफ्ट नेपाल नामक कम्पनीमार्फत नेपाली हस्तकलाको बजार विस्तारमा लागिरहेका छन् । उनी गैरआवासीय नेपाली संघ पोर्चुगलको उपाध्यक्ष भएर समाज सेवामा पनि उत्तिकै सक्रिय छन् । केही साताअघि नेपाल आएका बेला गौतमसँग गरिएको कुराकानीः

 हस्तकला ब्यवसायमा कसरी हात हाल्नु भयो ?
बसन्तपुर क्षेत्रमा बसेर पढ्ने क्रममा मैले हस्तकलाको ब्यापार बुझ्ने अबसर पाएँ । त्यहाँ म प्राविधिक विद्यालयमा पढ्थे । त्यस विद्यालयका प्रधानाध्यापकले विहान पढाइ सकेर दिउँसो काम गर्नुपर्छ भन्नु हुन्थ्यो । उहाँले एउटा पसलमा काम लगाइ दिनु भयो ।

एसएलसी सकेपछि मैले ठमेलमा आफ्नै पसल खोलेँ । त्यो सन १९९६ को कुरा थियो । त्यतिखेर म तयारी पोसाकको ब्यापार गर्थें । केही समयपछि द्वन्द्वका कारणले ठमेलको ब्यापारमा मन्दी आयो । त्यसपछि म हस्तकलाका सामान लिएर विदेश जान थालें । मेरा विदेशी ग्राहकको अर्डर अनुरुप सामान लैजान्थे । बेलायत, नर्वेलगायतका मुलुकमा नेपाली सामान पुर्याएँ ।

सन् २००९ मा पोर्चुगल पुगें । त्यहाँको सरकारले विदेशीलाई स्थायी बसोबासको अनुमति दिने रहेछ । त्यहाँ बसेर केही गर्ने उद्देश्य लिएर नेपाली कम्पनी आफ्नै नाममा दर्ता गरें । अहिले नेपालबाट बार्षिक ५ देखि ७ कन्टेनर पोर्चुगल लगेर युरोपभरि विक्री गर्दै आएको छु ।

 विदेशीले कस्तो सामान मन पराउने रहेछन् ?
सबैभन्दा पहिला उनीहरु यहाँको नेचुरल सामग्री खोज्छन् । त्यसपछि पुरातात्विक बस्तु खोज्छन् । उनीहरु मूल्यभन्दा सामानलाई महत्व दिन्छन् । त्यसैले मैले लेकमा पाइने अल्लोका सामग्री आफैंले उत्पादन गरेर विदेश लाने गरेको छु ।

त्यसपछि बुद्ध, गणेशलगायतका देवी देवताका मुर्तीहरु, ध्यान गर्न सघाउने सिङ्गिङ् वाउल, थांका आर्ट, नेपाली कागजका उत्पादन धेरै मन पराउँछन् । नेपाली उत्पादनलाई विदेशीले धेरै माया गर्छन् । ‘मेड इन नेपाल’ लेखेको देख्नासाथ उनीहरु किनिहाल्छन् ।

युरोपमा नेपाली उत्पादनको प्रबर्धन कसरी गरिरहनु भएको छ ?
त्यहाँ ठूला मेलाहरु भइरहन्छन् । हस्तकलाका मेलाहरु भइरहन्छन् । ती मेलाहरुमा सहभागिता जनाउछौं । ती मेलामा आउने ग्राहकसम्म हाम्रा सामान पु¥याउँछौं । सामान खोज्नेहरु समेत त्यस्तै मेलामा आउँछन् ।

बर्षमा कति सामान लगिरहनु भएको छ ?
संसारमा उपभोग्य सामानको बजार चिनले खाइसकेको छ । नेपाली हस्तकलाका सामग्री धेरैजसो सजाउन प्रयोग हुने हो । मैले आफ्नै सोरुम राखेर ब्यवसाय सुरु गरेको सन् २०१३ देखि हो । अहिले मैले बर्षमा ७ कन्टेनरसम्म लगिरहेको छु । बजार विस्तार गर्दै बर्षको १० कन्टेनरसम्म सामान पु¥याउने लक्ष छ ।

यहाँबाट कसरी लगिन्छ सामान ?
यहाँबाट एयर कार्गो र सि कार्गो गरी दुइ तरिकाबाट लगिन्छ । छिटो चाहिए हवाइ कार्गो गरिन्छ । त्यसरी लैजाँदा लागत महंगो पर्छ । समुन्द्री मार्गबाट लैजाँदा सस्तो पर्छ, तर लामो समय लाग्ने भएकाले ६ महिनाजतिको योजना बनाउनु पर्छ ।

नेपाली सामग्री विदेशीले किन मन पराउँछन् ?
नेपाल हिमालयन कन्ट्री भनेर उनीहरुले चिनेका छन् । यहाँ बनेका सामग्रीले हिमालको अपनत्व उनीहरुलाई दिन्छ । त्यसैले उनीहरु गुणस्तरले भन्दा हिमालयन कन्ट्रीको उत्पादन भनेर माया गर्छन् ।

तपाईंले पोर्चुगलबाट कहाँकहाँ नेपाली उत्पादन पुर्याइरहनु भएको छ ?
मैले जर्मनी, हल्यान्ड, जर्मनी, फ्रान्स, इटाली, नर्वे, स्पेन, ब्राजिल लगायतका मुलुकमा यहाँको उत्पादन पुर्याइरहेको छु ।

नेपालको उत्पादनको विदेशमा अझै बजार गर्न के गर्नु पर्ला ? 
नेपालीको चाडों कमाउँ भन्ने प्रवृत्ति छ । त्यसैले सामानको गुणस्तर खस्कँदै गएको छ । उत्पादनको गुणस्तर खस्किए बजार ठप्प हुनसक्छ । त्यसैले सरकारले यहाँ उत्पादन हुने हस्तकलाका सामाग्रीको गुणस्तर कायम गर्न सम्बन्धित निकायलाई सक्रिय बनाउनु आवश्यक छ ।

नेपाली उत्पादन विदेश निर्यात बढ्दा देशले विदेशी मुद्रा कमाउने हो । त्यसैले सरकारले यसमा ध्यान दिनु पर्छ ।त्यस्तै भारतलगायतका मुलुकले हस्तकलाका सामग्री निर्यात गर्दा अनुदान दिने ब्यवस्था गरेको छ । नेपाल सरकारले पनि आफ्नो क्षमताले भ्याउने सहयोग निर्यातकर्तालाई गर्नु आवश्यक छ ।

हस्तकला ब्यवसाय गरेर के पाउनु भयो ?
पहिले म क्रेता खोजेर हिँड्थें, अहिले आफैं क्रेता भएको छु । पहिले उधारोमा सामान दिनु पथ्र्यो, अहिले हाताहाती कारोबार गर्छु । मुलुकमा धेरै ब्यवसायीलाई उत्पादन किनेर सघाइरहेको छु । आफैंले घरमा अल्लोका समान उत्पादन गर्ने उद्योग चलाइरहेको छु । नेपाली उत्पादनलाई युरोप भर चिनाइरहेको छु । सायद मैले पाएको यही हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको